नेपाल दशकौं अघिदेखि आप्रवासी लाखौं रहेको एक विकाशोन्मुख मुलुक हो । मुलुकमा रोजगारीको अभाव र चरम गरिबीका कारण विदेशीनेको संख्या अधिक छ । त्यति मात्र होइन विदेशी भूमिमा रमाउने र अन्तर्राष्ट्रिय क्षेत्रको विकासमै भुल्ने कारणले पछिल्लो समय आप्रवासीको संख्या बढ्दै गएको हो । यसैक्रममा डिसेम्बर १८ लाई आप्रवासी दिवसको रुपमा मनाइन्छ । नेपाललगायत विश्वभरी विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिएको छ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक बर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रुपमा मनाउन थालिएको हो । यस दिवसका अवसरमा नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरुले आप्रवासी श्रमिकहरुको अधिकार सुनिश्चतता सम्बन्धि कानुनको चर्चा र सरकार तथा राजनीति दलहरुलाई यी बिषयमा ध्यानाकर्षण गराउँदै आएका छन् । आज कामका लागि बाहिरिन लागेका कामदारहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदा औपचारिक रुपमा गर्ने गरिन्छ भने विभिन्न प्रचारात्मक कार्यक्रमहरु गरिन्छ । रोजगारी र जीविकोपार्जनका लागि अन्य देश जाने र बस्ने प्रक्रियालाई सामान्य रुपमा आप्रवासन भनिन्छ ।
आप्रवासीहरु जुन देशमा पुगेको हो त्यहि देशको कानुन अनुसारको सेवा सुविधाको मान्यता पाउनु पर्छ भन्ने सन्देश फैलाउन सन् २००० देखि हरेक बर्ष डिसेम्बर १८ मा यो दिवस मनाईंदै आएको छ । आप्रवासीको हित मानव विकासको फराकिलो दायराभित्रको महत्वपूर्ण अंश हो । नेपाली आप्रवासीहरुले आफु र आफ्ना परिवारको उन्नति तथा भलाइका लागि देश बाहिर गई संघर्ष गर्दै आएका छन् । नेपालमा वैदेशिक रोजगार विभागले प्रत्येक दिन करिब १७ सय नेपालीहरु कामका लागि विदेशिने गरेको बताउँदै आएको छ । जसअनुसार ३० लाख भन्दा बढी नेपाली अहिले रोजगारीका शिलसिलामा विदेशिएका छन् । विशेषगरी नेपालीहरुको गन्तव्य खाडी मुलुकहरु र मलेशिया, दक्षिण कोरिया, पूर्वी अमेरिका हो । नेपालीहरु कामकै लागि यूरोपसहित विश्वका १९० वटा देश पुग्दै आएका छन् । यस्तो अवस्थामा आप्रवासी नेपाली कामदारहरुले दैनिक रुपमा अनेकौं समस्याको सामना गर्दै आएका छन् । आप्रवासी कामदारले भिœयाएको विप्रेषणले उनीहरुको मात्रै होइन पुरै देशकै आयश्रोतमा बढोत्तरी भएको छ । संयुक्त राष्ट्रसंघको ६८ औँ सधारणसभाले विकासका लागि आप्रवासको महत्व र सम्पूर्ण आप्रवासीको अधिकार संरक्षणका लागि अन्तर्राष्ट्रिय आप्रवास र विकासमा उच्चस्तरीय संवादको घोषणा पारित गरिसकेको छ ।
यसले सहस्राब्दी विकास लक्ष्य पुरा गर्न आप्रवासको योगदानलाई पूर्ण रुपमा स्वीकार गरेको छ भने मानव गतिशिलतालाई दिगो विकासको महत्वपूर्ण हिस्साको रुपमा अंगीकार गरिएको छ । नेपालमा वर्षेनी आप्रवासी दिवस मनाइए पनि कामदारका समस्या भने उल्लेख्य रुपमा घट्न सकेको छैन । आप्रवासीको हकहितका लागि विश्वभरी आप्रवासी दिवस मनाइए पनि कामदारहरुले रोजगारदाताबाट पारिश्रमिक नपाउने, पाए पनि समयमा नपाउने, सामान्य स्वास्थ्य उपचार सेवा पनि नपाउने, तोकिएको काम र कार्यक्षेत्रभन्दा अन्य अन्यत्रै काम गर्नुपर्ने, पारिवारिक सम्पर्कमा कठिनाई बनाइदिने र बेचबिखनमा पर्ने जस्ता ठुला मानवीय समस्याहरुबाट गुज्रिंदै आएका छन् । मुलुकका दक्ष जनशक्ति बाहिरिने क्रम जति बढेको छ, त्यतिनै सदाका लागि विदेशी भूमिलाई आफ्नो जीवन काट्ने स्थान बनाईंदै छ । मुलुकमा आप्रवासी बृद्धि हुँदा पनि सरकारले न्यूनीकरणको पाटोलाई जोड दिएको पाईंदैन । आप्रवासीलाई आफ्नै भूमिमा फर्काउन सरकारी तवरबाट महत्वपूर्ण नीति र योजना अघि सारिएको छैन ।