हेटौंडा/बागमती प्रदेशको मुकाम रहेको मकवानपुरमा बलात्कारका घट्ना बढेका छन् । विगतका वर्षको तुलनामा जिल्लामा बलात्कारका घटना वृद्धि भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालू आर्थिक वर्ष २०७७÷०७८ को मंसिर मसान्तसम्म २२ वटा बलात्कारका घटना दर्ता भएका छन् । गत साउनमा बलात्कार ५ वटा मुद्दा दर्ता भएका थिए । यसैगरी भदौमा २ वटा असोज, कार्तिक र मंसिरमा ५÷५ वटा मुद्दा दर्ता भएको कार्यालयले जानकारी दिएको छ ।
मुद्दा दर्ता भएका २२ घटनामध्ये १६ जना पक्राउ परेको जनाइएको छ । बाँक ६ जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरको तथ्यांकमा उल्लेख छ । गत आर्थिक वर्ष २०७६÷७७ मा मकवानपुरमा ३६ वटा बलात्कारका घटना दर्ता भएका थिए । जसमध्ये ३२ जना पक्राउ परेका छन् भने ४ जना अझै फरार छन् ।
आर्थिक वर्ष २०७५÷७६ मा ३२ वटा बलात्कारका घटना भएकोमा २६ जना पक्राउ परेका थिए भने ६ जना अझै फरार रहेको मकवानपुर प्रहरीको तथ्यांकमा छ । विगतका वर्षहरुमा भन्दा चालू आर्थिक वर्षमा बलात्कारको घटना बढेको तथ्यांकले देखाउँछन् ।
मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले मकवानपुरमा बलात्कार, हत्या जस्ता जघन्य अपराधका घटना बढेको बताए । यस्ता अपराधका घटनामा संलग्नलाई नियन्त्रणमा लिई कानुनी कारबाहीको दायरामा ल्याउन मकवानपुर प्रहरी सफल भएको बताए ।
उनले बलात्कार, महिला तथा बालबालिकामाथिको हिंसा धेरैजस्तो घर परिवार तथा आफन्तबाट हुने गरेको बताए ।