हेटौंडा/कृषिमा आत्मर्निभरतर्फ उन्मुख मकवानपुरमा धान उत्पादन बढेको छ । बागमती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार जिल्लामा धान उत्पादन बढेको हो ।
धान उत्पादकत्वमा भने ह्रास आएको मन्त्रालयले जानकारी दिएको छ । यसवर्ष मकवानपुरमा ३६ हजार ४ सय ५० मेट्रिक टन धान उत्पादन भएको छ । गतवर्ष ३४ हजार ७ सय ७६ मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । दुई वर्षमा जिल्लामा तुलनात्मक रुपमा एक हजार ६ सय ७४ मेट्रिक टनले धान उत्पादन बढेको मन्त्रालयको तथ्यांकमा देखिन्छ ।
समयमै धान रोपिएकाले पनि उत्पादनमा वृद्धि आएको हो । गतवर्ष भन्दा यसवर्ष धान खेती विस्तार भएपनि उत्पादकत्वमा भने गिरावट आएको मन्त्रालयले जानकारी दिएको छ । यसवर्ष अघिल्लो वर्षमा भन्दा बढी क्षेत्रफलमा धान रोपाईं भएको थियो । मन्त्रालयका अनुसार यसवर्ष रासायनिक मलको अभाव तथा धानमा विभिन्न रोग देखा परेकाले पनि उत्पादकत्वमा कमी आएको हो ।
गतवर्ष मकवानपुरमा ९ हजार ४ सय ५० हेक्टरमा धान खेती गरिएकोमा उत्पादकत्व ३ दशमलव ६८ प्रतिशत रहेको थियो । यसवर्ष ११ हजार हेक्टरमा धान खेती गरिएको भएपनि उत्पादकत्व ३ दशमलव ३१ प्रतिशत रहेको छ । गतवर्षको तुलनामा शुन्य दशमलव ३७ प्रतिशतले उत्पादकत्व घटेको छ । मन्त्रालयका अनुसार यसवर्ष धान उत्पादन क्षेत्र एक हजार ५ सय ५० हेक्टरले बृद्धि भएको छ ।
धान स्याहार्ने बेलामा धानमा पोगटा मात्रै भएको किसानको गुनासो छ । मकवानपुरमा मात्रै नभई बागमती प्रदेशमा नै यसवर्ष धान उत्पादन बढेको देखिन्छ । गत वर्षको तुलनामा धान उत्पादन बढेपनि प्रदेशमा पनि उत्पादकत्वमा भने कमी आएको छ । प्रदेशको मुख्य बाली धानको उत्पादन क्षेत्रफल बृद्धिको अनुपातमा उत्पादकत्वमा कमी देखिएको हो । गत वर्ष प्रदेशभर धानको उत्पादकत्व ३ दशमलव ८२ प्रतिशत रहेकोमा यस वर्ष घटेर ३ दशमलव ६४ प्रतिशतमा झरेको छ ।
बागमती प्रदेशको कृषि विकाश निर्देशनालयको योजना, अनुगमन तथा कार्यक्रम शाखाका कृषि अर्थविज्ञका अनुसार गतवर्ष प्रदेशका जिल्लाहरुमा एक लाख ११ हजार ७ सय ४३ हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो । यसवर्ष एक लाख २५ हजार १ सय ७ हेक्टरमा धान खेती भएको मन्त्रालयले जानकारी दिएको छ । गतवर्ष चार लाख २७ हजार १ सय ८२ मेट्रिक टन धान उत्पादन भएकोमा यसवर्ष बृद्धि भएर चार लाख ५५ हजार ८ सय २० मेट्रिक टन धान उत्पादन भएको छ ।
मकवानपुर धान खेतीका लागि पकेट क्षेत्र मानिए पनि जिल्लामा बढ्दो सहरीकरण र जग्गा प्लटिङ, परम्परागत शैलीको खेती प्रणालीका कारण खेतीयोग्य जमिनको तुलनमा धान उत्पादन भने हुन सकेको छैन् । मकवानपुरको धानखेती हुने जमिन मध्ये ३५ प्रतिशत भागमा मात्र सिँचाइ सुविधा रहेको जनाइएको छ । धान उत्पादन समयका आधारमा अगौटे, मध्यमा र पछौटे गरी ३ भागमा विभाजन गरिएको छ । मकवानपुरमा ‘मकवानपुर–१, ‘हाइब्रिड’, ‘सावित्री’, ‘रामधान’ र माथिल्लो क्षेत्रमा ‘खुमल’, ‘टाइचिङ’ जातको धानखेती हुने गरेको छ ।