पढेको भन्दा हेरेर र स्वयं अवलोकन गरेर अझ अभ्यास मार्फत सिकाईमा प्रभावकारिता आउने तथ्यमा थप चर्चा जरुरी छैन् । पहिले शैक्षिक भ्रमण भन्ने बित्तिकै विद्यार्थीहरुको मात्र भ्रमण भन्ने बुझिन्थ्यो । अझ कलेजस्तरका विद्यार्थीहरु शैक्षिक भ्रमणमा बढि अग्रसर हुन्थे । एक्सकर्सन तथा पिक्निकहरु पनि शैक्षिक भ्रमण अन्तर्गत बुझिन्थ्यो । पछिल्ला वर्षहरुमा शिक्षकहरुको भ्रमण पनि शैक्षिक भ्रमण नै बन्यो । हुन त शिक्षा संग जोडिएका सिकाई लक्षित सबैखाले शैक्षिक भ्रमण नै हुन् । शिक्षक र विद्यार्थीका भ्रमणमात्र शैक्षिक भ्रमण भनिने
परम्परागत बुझाईमा परिवर्तन भएको छ । अवलोकन भ्रमण भन्दै सामुदायिक वनहरु,
सहकारीहरु संगै अन्य सरकारी तथा गैरसरकारी संस्थाहरु विभिन्न महत्वका स्थानहरु र संस्थाहरुमा भ्रमण गरेर आपसी अशल अभ्यासहरुको आदानप्रदान गरेका समाचारमा ब्यापकता भएको छ । यो सकारात्मक पक्ष त छदैंछ संगै सिकाई र अभ्यासमा नयाँपनले प्रवेश पाएको छ । स्वदेशको मात्र नभई बिदेश भ्रमणबाट समेत ब्यापक सिक्न सकिने अवसर बनेको तथ्य स्पष्ट छ । जंगबहादुर राणाले बेलायतको भ्रमण नगरेको भए नेपालमा औपचारिक शिक्षाको थालनि अझै ढिलो बन्न पनि सक्थ्यो । त्यस्ता अनेक उदाहरणहरु भेटिन्छन् । शासकहरु, मन्त्रिहरु, उच्च प्रशासकहरु लगायतकाको भ्रमणहरुबाट राष्टू विकासमा
धेरथोर उल्लेखनिय योगदान पुगेकोमा कतै बिमति छैन् । कुनै कालमा कसैले थोरै सिकेर धेरै
गरेका छन् भने कोहि भने धेरै सिकेर पनि थोरै अभ्यासमा सिमित बनेको पाईन्छ । सिकाई र गराईमा अन्य दृष्य तथा अदृष्य अनेकन कारणले प्रभाव पारेको पाईएको छ । विषयगत विशिष्टिकरणमा उत्कृष्टता हासिल गरेका संस्थाहरुबाट धेरैकुरा सिक्न सकिन्छ ।
नेपालको सन्दर्भमा यस्ता धेरै स्कूल तथा कलेजहरु छन् जस्ले गरेका अशल अभ्यासका कारणबाट सम्बन्धित संस्थाहरुको अतिरिक्त अरु शिक्षण संस्थाहरुले समेत सो अनुकरणगर्दै भिन्न पहिचान बनाएर विकास गरेका छन् । यो सकारात्मक पक्ष हो । शैक्षिक भ्रमणलाई औपचारिकता मात्र बुझ्ने र सिकाई भन्दा अन्य कुरामा जोड दिने प्रवृत्तिमा भने सुधार गर्नैपर्छ । जे उद्धेश्य बोकेर अवलोकन भ्रमण गरिन्छ, त्यो प्राप्तिमा केन्द्रित भए मात्र हामीले अपेक्षित उपलब्धि हासिल गर्न सकिन्छ । शिक्षकहरुले शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउँदेै स्तरिय नतिजाबाट उच्च पहिचान कायम गर्ने उद्धेश्यमा केन्द्रित हुनुपर्दछ । ब्यवस्थापन समितिका पदाधिकारीहरुले आफ्नो संस्थालाई नमुना बनाउने तर्फ भौतिक तथा आर्थिक पक्षमा सबलता र सक्षमतामा जोड दिनु जरुरी छ । विद्यार्थीहरु पाठ्यक्रमले निर्धारण गरेका विषयवस्तु जोडिएका प्रत्येक नवस्थान तथा घटना र वस्तुहरुको सिकाईमा नै समर्पित हुनैपर्दछ । उनीहरुले अरुको लागि होईन आफ्नै लागि अझ आफ्नै प्रतिष्ठित भविष्यकोलागि केन्द्रित बन्नै पर्दछ । जनप्रतिनिधिहरु भने आफ्नो स्थानियतहमा पानी, बिजुली, शिक्षा, स्वास्थ्य, सडक, कृषि,उद्योग ब्यवसाय, लगायतका विविध विषयहरु संग जोडिएकाले विषयगत समितिहरुको अलगै भ्रमण योजना हुनुपर्दछ । सम्बन्धित विषयको उत्कृष्ट र नमूना योग्य तथा नतिजा हासिल गरेका स्थलहरुको भ्रमण तय गरिनु राम्रो हुन्छ । यसो हुँदा राम्रो कामको कारण सहित थप तरिकाहरु सिक्न सहज बन्न सक्छ ।
साधन स्रोतले सम्पन्न भएर पनि काम नभएका धेरै स्थानियतह हामीले पाएका छौं । साधन स्रोतको अभावका बिच पनि नमूना योग्य र अपेक्षित नतिजा प्राप्त भएका उदाहरणको कमि छैन । यसले के सिद्ध गर्दछ भने सुझबुझ, चेतनाको स्तर, दृष्टिकोण, नियत र समर्पण जस्ता कुराहरुको ज्ञानको अवस्थाले उल्लेखित कुराहरुको निर्धारण गर्दछ । कतिपय स्थानीयतहहरु अन्यौल र द्धिविधामा नै अल्मलिएका छन् । शिक्षा हाम्रो भागको होईन्, यो त संघीय सरकारको जिम्मेवारी हो ,हामी त अनुदान निकासासंग मात्र जोडिएका छौं भन्नेहरु धेरै छन् । अर्कोतर्फ संघीय शिक्षा ऐन दिन नसकेर सरकारले शिक्षाप्रतिको सौतेनि ब्यवहार उजागर गरेको छ । यसै अवधिमा कतिपय स्थानिय तहले भने स्थानिय शिक्षा ऐन जारी गरेर यो आफ्नो जिम्मेवारी हो भन्ने म्यासेज प्रवाह गरेका छन् । संघीय तथा प्रदेश ऐनसंग नबाझिने गरी स्थानीय शिक्षा ऐन बन्नुपर्ने प्रावधान छ । शिक्षा प्रशासनमा कर्मचारीको अभाव देखाएर पन्छिने स्थानीयतहहरुको संख्या पनि कम छैन । सामान्य प्रशासन मन्त्रालयले स्थानियतहमा पठाउने प्रयोजनार्थ कर्मचारीहरुको थप सुविधा सहितका हचुवा प्रमोशन गर्दा असक्षम तथा अयोग्य कर्मचारीहरुको उपस्थितिले स्थानीय तहमा योजनावद्ध कामको स्तर र प्रभावकारीता अपेक्षित हुन सकेन । यो तितो सत्य हो ।
संघीयता अभ्यासको यो पहिलो अवधिमा निर्वाचित धेरै जनप्रतिनिधिहरुले आफ्नो पिरियडलाई हरेक कोणबाट सफल र परिणाममुखी साबित गर्न तिव्र ईच्छा देखाएको भन्नैपर्छ । उक्त नतिजा उन्मुख सोचहरुको कार्यान्वयन गर्ने मेकानिज्म भनेको कर्मचारी नै हुन् र सो को लागि अनुकूल वातावरण भने जनप्रतिनिधिहरुबाटै श्रृजित हुनैपर्दछ । हाम्रो सन्दर्भमा ७५३ वटा स्थानीय सरकारहरुमध्ये आफ्नो सक्षमता प्रदर्शन गर्ने थोरै तहमध्ये स्याङ्जा जिल्लाको फेदिखोला गाउँपालिका तथा काभ्रेको मण्डन–देउपुर
नगरपालिका र मकवानपुरको थाहा नगरपालिका संगै मकवानपुरगढी गाउँपालिका लगायतका अरु धेरै स्थानीय तहहरु उदाहरणको रुपमा लिन सकिँछ । देशमै सबैभन्दा धेर्रैै, छ हजार भन्दा बढि विद्यार्थी भएको विद्यालय कालिका मानवज्ञान माध्यमिक विद्यालय बुटवल, नमुना भनेर चर्चामा रहेका नारायणी मा.वि. चितवन, ज्ञानोदय मा.वि. बाफल, काठमाडौं, आधुनिक रा.मा.वि. हेटौंडा, सिद्धार्थ मा.वि. हेटौंडा सामुदायिक विद्यालयका केहि नमुना हुन् । देशका आठ हजार भन्दा बढि माध्यमिक विद्यालयमध्ये सय भन्दा धेरै नमूना भएका र तीमध्ये आधा दर्जन वटा मकवानपुरमै रहेको पाईन्छ । यहाँ ती सबै विद्यालयको नाम ठेगाना भन्दा पनि प्रतिनिधिमूलक उदाहरणको संकेत गरिएको हो । कोभिड–१९ को कहरबाट श्रृजित वर्तमान लामो असहज तथा विषम स्थितिमा केहि विद्यालयहरुले प्रविधिको माध्यमबाट शिक्षण सिकाईमा उदाहरणीय फड्को मारेको तथ्य स्पष्ट छ । स्याङ्जा, तनहुँ, झापा, चितवन, पाल्पा, दाङ, धादिङ, काभ्रे, मोरङ, भक्तपुर आदि जिल्लाका केहि शिक्षण संस्थाहरु यस अवधिमा प्रविधिको प्रयोगले देशमै चर्चित भएका छन् । विद्यालय बन्दको अवस्थामा शिक्षण सिकाईको निरन्तरताको लागि ती विद्यालयहरुले गरेको प्रयास र स्थानीय सरकारको शिक्षामा लगाव सहि अर्थमा स्तरीय बने, संगै भिन्न उच्च पहिचान कायम गरेर देखाएका छन् ।
हालको समय घुमफिर वा भिडभाड गर्नेे बेला हैन । अहिले त सामान्य अवस्था भन्दा बढि स्वास्थ्य सुरक्षाका नियमहरुको पालना गर्दै गराउँदै आफू बच्ने र अरुलाई बचाउने हो । यस पीडालाई न्यून गर्ने उपाय खोज्दै बनाउदैं र कोभिड–१९ पश्चातका शिक्षा ब्यवस्थाको योजना निर्माणको अवधिको रुपमा उपयोग गर्नुपर्दछ । सिक्नै पर्ने लागेका स्थलहरु त्था संस्थाहरुमा जिम्मेवार ब्यक्तिहरु कम संख्यामा सावधानिपूर्वक जानैपर्ने पनि हुन सक्छ । देशभित्र मात्र हैन बाहिरका संस्थाहरु एवम् स्थानहरु जसबाट हामीले हाम्रो परिवेशमा धेरै कुराहरु सिक्न योग्य र सान्दर्भिक बन्न सक्छन् । खास ब्यक्तिका सीप तथा ज्ञानबाट हाम्रा शिक्षण संस्थाहरुमा अपेक्षित उपलब्धि हासिल गर्न सहज बन्दछ भने केहि लगानि गरेर पनि ति सीप, ज्ञान, विधि,
तरिका, भिœयाउनै पर्दछ ।