हेटौंडा/हेटौंडा उपमहानगरपालिका क्षेत्रमा अर्को एक ठूलो लगानीको उद्योग निर्माण हुने भएको छ । बागमती प्रदेश सरकारअन्तर्गतको दुग्ध विकास बोर्डले हेटौडा उपमहानगरपालिका–१० सिसौघारीमा पाउडर दुग्ध प्लान्ट निर्माण गर्ने भएको हो । प्लान्ट निर्माणका लागि बोलपत्र आव्हान गरेर निर्माण व्यवसायीसमेत छनोट गरिसकेको बोर्डले जनाएको छ ।
दुग्ध प्लान्ट भवन निर्माण तत्काल सुरु गरिने बोर्डको दाबी छ । प्रदेश सरकारको अनुदान ४१ करोड २२ लाख ७१ हजार ५ सय १२ रुपैयाँ लागतमा आगामी दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गरेर धुलो दूध प्याकिङ गर्ने लक्ष्य रहेको प्रदेश दुग्ध विकास बोर्डका सूचना अधिकारी डा.शत्रुघनप्रसाद साहले बताए ।
उनका अनुसार प्रदेश नं. २ को बारा, रौतहट, पर्सा र बागमती प्रदेशको मकवानपुर र चितवनका गरी करिब पाँच हजार ६ सय कृषकबाट दैनिक साढे ६१ हजार लिटर दूध प्रदेश विकास बोर्डले खरिद गर्ने नीति रहेको छ ।
दुग्ध विकास बोर्डले कृषकबाट खरिद गरेको दूधलाई आधुनिक प्रविधिको माध्यमबाट पाउडर दूध प्याकिङ् गरी स्वदेशका साथै विदेशी बजारमा खपतका लागि पठाइने भएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका प्रवक्ता डा. शरणकुमार पाण्डेले जानकारी दिए ।
यसैगरी दुग्ध प्लान्टको परिसरभित्र १ सय मेट्रिक टन क्षमताको नयाँ कोल्ड स्टोर निर्माणका लागि बोलपत्र पनि आह्वान गरेर निर्माण व्यवसायीको छनोट गरिसकेको प्रवक्ता डा. पाण्डेले बताए । उक्त भवन निर्माणका लागि प्रदेश सरकारले ५७ लाख १२ हजार ४ सय १७ विनियोजन गरिसकेको र अब छिट्टै भवन निर्माण कार्य अघि बढ्ने पाण्डेको दाबी छ ।
हेटौंडामा सञ्चालन हुने पाउडर दूध प्याकिङ उद्योगबाट प्रत्यक्ष अप्रत्यक्ष गरी करिब २४५ जनाले रोजगारीको अवसर प्राप्त गर्ने बोर्डले जनाएको छ । प्रदेश सरकारले हेटौँडाको सिसौघारीमा सो उद्योग स्थापना गर्न दुई विघा दुई कठ्ठा सरकारी जग्गा हालै उपलब्ध गराइएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताए ।