हेटौंडा/ छैठौं राष्ट्रिय भेट्रान्स कप फुटबल प्रतियोगिता–२०७७ माघ पहिलो हप्ता हेटौंडामा हुने भएको छ हेटौंडा–४, स्थित हुप्र चौरमा हुने प्रतियोगितामा देशभरका १६ टोली सहभागिता रहने आयोजक हेटौंडा भेट्रान्सले मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । माघ ५ गतेदेखि १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नकाउट आधारमा सञ्चालन हुने आयोजक अध्यक्ष दीपक बज्राचार्यले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा करिब ११ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ ।
प्रतियोगिताका लागि हेटौंडा उपमहानगरपालिका, हेटौंडा स्कुल अफ म्यानेजमेन्ट, रोटरी क्लब अफ मकवानपुर, जिल्लामा रहेको जेसीज तथा लायन्स र विभिन्न संघसंस्थाबाट सहयोग प्राप्त हुने कार्यक्रम संयोजक कविन सांगामीले जानकारी दिए । ‘कोरोनाका कारण हामीले यस संस्करणलाई केही ढिला गरी सञ्चालन गरेका छौं । हामीले सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनुसार प्रतियोगिताका खेलहरु हेर्न आउने दर्शकलाई बसिदिन समेत आग्रह गर्नेछौं ।’,
सांगामीले प्रतियोगिता नकाउट आधारमा सञ्चालन हुने जानकारी दिए । उनका अनुसार प्रतियोगितामा आयोजकसहित वीर– गञ्ज, जीतपुर, कोल्बी, बगरभाइ खलक ‘क’ पोखरा, एवीसी पोखरा, कैलाली, पशुपति क्लब हेटौंडा, हाम्रो वीरगञ्ज, सिमरा, चितवन, बगरभाइ खलक ‘ख’ पोखरा, बानेश्वर भेट्रान, सानो गौचरण, विराटनगर र सुपर हेटौंडा भेट्रानले सहभागिता जनाउने छन् ।
प्रतियोगिताको विजेताले नगद एकलाख एकहजार एकसय ११ रुपैयाँ, उपविजेताले ५१ हजार एकसय ११ रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद दशहजार रुपैयाँ प्रदान गरिनेछ । विधागतरुपमा उत्कृष्ट गोलरक्षक, मिड फिल्डर, गोलरक्षक, डिफेन्डर, फरवार्ड र प्रशिक्षकलाई जनही पाँच÷ पाँच हजार रुपैयाँको व्यवस्था गरिएको छ ।