हेटौंडा/माघ अन्तिम साता हेटौंडामा गोल्डकप फुटबल प्रतियोगिता–२०७७ हुने भएको छ ।स्थानीय विजय युथ क्लब हेटौंडाको आयोजनामा पहिलो संस्करणको हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको हो । माघ २२ गतेबाट फागुन १ गतेसम्म हेटौंडा–१० स्थित वनविज्ञान अध्ययन संस्थानको खेल मैदानमा प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा मोफासलका दश टोलीको सहभागिता रहने भएको छ ।
फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघले ‘ए’ डिभिजन क्बलहरुलाई तत्कालका लागि देशभरका विभिन्न स्थानमा हुने नकाउट फुटबलमा सहभागी हुन अनुमति नदिएका कारण मोफासलका टोलीहरुको उपस्थितिमा प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजक क्लबका अध्यक्ष सुदिप राजबाहकले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा मोफासलका टिमहरु सहभागी हुने भएपनि राष्ट्रिय स्तरका खेलाडीहरु विभिन्न क्लबबाट सहभागी हुनेछन् ।
प्रतियोगितामा आयोजक एफसी विजय युथ, नवजनजागृती युवा क्बल सिमरा, वीरगञ्ज युथ एकेडेमी, वीरगञ्ज युनाइटेड, सर्लाही–११, दुधौली स्पोर्टस् क्लब सिन्धुली, हर्दी युवा समाज चितवन, सेन्ट्रल कलेज चितवन, एफसी रियाले काठमाडौं सहभागी हुने प्रतियोगिता संयोजक राजेश भेटवालले जानकारी दिए ।
भेटवालका अनुसार प्रतियोगिताको विजेताले नगद तीनलाख रुपैयाँ र उपविजेताले एकलाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा विधागतरुपमा उत्कृष्ट हुने गोलरक्षक, डिफेन्डर, मिड– फिल्डर, फरवार्ड तथा प्रशिक्षकलाई जनही नगद पाँच÷पाँचहजार रुपैयाँ प्रदान गरिनेछ । ‘प्रत्येक खेलको म्यान अफ दी म्याच समेत प्रदान गर्नेछौं ।’, संयोजक भेटवालका अनुसार प्रतियोगितामा करिब २५ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ ।
प्रतियोगिताका तयारीका लागि मैदानको स्तरोन्नति गर्ने, प्रायोजक खोज्ने तथा प्रचारप्रसारको काम अगाडि बढाइएको आयोजकले जनाएको छ । विजय युथ क्बल मोफलको चर्चित फुटबल टोली हो । यस क्बलले देशभरका विभिन्न स्थानमा हुने राष्ट्रियस्तरको नकाउट फुटबल प्रतियोगिताहरुमा सहभागिता जनाउने गरेको छ । विजय युथले सिमरा गोल्डकपलगायत चर्चित फुटबल प्रतियोगिता समेत आफ्नो नाम लेखाइसकेको छ ।
क्लबद्वारा विहीबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समिति मकवापनुर अध्यक्ष सानु लामा, नगर खेलकुद विकास समिति अध्यक्ष चन्द्र शाही, जिल्ला फुटबल संघ मकवानपुर अध्यक्ष टीका लामा तथा फुटबल प्रशिक्षक सुविन घिमिरे लगायतको उपस्थिति रहेको थियो ।