हेटौंडा/मकवानपुरको पूर्वी क्षेत्रस्थित बागमती गाउँपालिका विपन्न परिवारलाई नारी सीप सृजना केन्द्रले आत्मनिर्भर बनाउन बाटो देखाएको छ
हेटौंडामा रहेको नारी सीप केन्द्रले तरकारी खेती, कुखुरा तथा बाख्रा पालनको लागि सहयोग गर्दै आत्मनिर्भर बनाउनेतर्फ उन्मुख गराएको हो बागमती गाउँ– पालिकाको ५ वटा वडामा मानव बेचबिखन रोकथाम तथा सुरक्षित स्थानागमन प्रवद्र्धन परियोजना अन्तर्गत् स्थानीयलाई आयआर्जनमा समाहित गराइएको हो । संस्थाले स्थानीयलाई स्वरोजगार बनाएको हो ।
गाउँपालिकाको १ देखि ५ नम्बर वडाका स्थानीयलाई करिब १० महिनाअघि देखि कुखुरा र बाख्रापालन तालिम, मौसमी तथा बेमौसमी तरकारी खेती तालिम दिइएको थियो । एडब्लुओ इन्टरनेशनल र नारी सीप सिर्जना केन्द्रको साझेदारीमा सञ्चालित परियोजना अन्तर्गत स्थानीयलाई तालिमपश्चात ४ सय वटा लोकल कुखुराका चल्ला वितरण गरिएको छ भने ब्याडको लागि दुई वटा बोयर बोकासमेत वितरण गरिएको संस्थाका कार्यकारी निर्देशक चिरञ्जिवी पैडेलले जानकारी दिए ।
५ वटै वडामा तरकारी खेतीका लागि एक÷एक वटा टनेलसमेत निर्माण गरिएको छ । अबको केही दिनभित्रै टनेलमा तरकारी खेती गरिने बागमती–१ बोटगाउँकी रविका राईले सुनाइन् । नारी सीपले तरकारी खेतीका लागि टनेल निर्माण गरिदिएपछि रेविका हर्षित भएकी छन् । ‘मैले कहिल्यै व्यवसायिक रुपमा तरकारी खेती
गरेको थिइन् । तालिम लिएपछि इच्छा जाग्यो । अहिले संस्थाले टनेल बनाइदिएपछि व्यवसायिक रुपमै तरकारी खेती गर्ने योजनामा छु ।’, उनले भिनन् ।
एक पटक बनाइएको टनेलबाट ३ वर्षसम्म तरकारी खेती गर्न सकिने कार्यकारी निर्देशक पौडेलले जानकारी दिए । संस्थाले स्थानीय ३५ जना महिलालाई सुरक्षित बसाई सराईका लागि सामुदायिक छलफल केन्द्र गठन गरेर सहजीकरण गर्दै आइरहेको छ । गाउँपालिकाको १ देखि ५ नम्बर वडासम्म परियोजनाअन्तर्गत ५ वटै वडामा छलफल केन्द्र गठन गरेको छ । केन्द्रका सदस्यहरुबीच महिनाको दुई पटक बैठक हुने र सो बैठकमा असुरक्षित बसाई सराई मानव बेचबिखनविरुद्ध कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारे छलफल हुने गरेको फिल्ड अफिसर गीता अर्यालले बताइन् ।
‘जागिर खान लेखपढ छैन । अलिअलि भएको जग्गामा खेतीपाती गरेर खानलाई पनि राम्ररी पुग्दैन । संस्थाबाट तरकारी खेती तालिम पाएपछि थोरै ठाउँमा तरकारी खेती गरेर पनि धेरै आम्दानी लिन सकिने रहेछ भन्ने थाहा पाएँ ।’ रेविकाले मंगलबार परियोजनाको अनुगमनमा पुगेको संस्था र पत्रकारहरु सँग भनिन् । ‘संस्थाले नै तरकारी टनेल पनि बनाइदिँदैछ । अब यसमा तरकारी खेती गरेर राम्रै कमाई गर्न सक्छु भन्ने लागेको छ ।’ रेविकाले सुनाइन् ।
नारी सीपको तालिमले घरभित्र लुक्ने महिलाहरु पनि आजकल मानव बेचबिखन, असुरक्षित बसाई सराईलगायतका बारेमा बोल्न सक्ने भएका छन् । पहिलो चरणमा मकवानपुरको मनहरी गाउँपालिकाको एक देखि ५ नम्बर वडा र हेटौंडा उपमहानगरपालिकाको १४, १५, १६, १७ र १९ नम्बर वडामा परियोजना सञ्चालन गरिएकोमा दोस्रो चरणमा बागमतीका ५ वटा वडा र राक्सिराङ गाउँपालिकाको पनि ५ वटा वडाका कार्यक्रम चलिरहेको परियोजनाकी फिल्ड कोर्डिनेटर गीता अर्यालले जानकारी दिइन् ।
बसाईसराई र बेचबिखन सम्भावित अवस्था भएका व्यक्तिहरु सचेतना पैरवी तथा दीगो जिविको पार्जनको विकास मार्फत असुरक्षित बसाई सराई र बेचबिखन हुनबाट रोक्ने परियोजनाले लक्ष्य राखेको छ । मानव बेचबिखन तथा असुरक्षित स्थानागमन सम्बन्धी लड्न सक्ने ज्ञान, सीप र साधनको पहुँचमा वृद्धि गर्नु परियोजनाको मुख्य उद्देश्य रहेको नारी सीप सिर्जना केन्द्रकी अध्यक्ष सरस्वती बर्तौलाले जानकारी दिइन् ।
परियोजनाअन्तर्गत स्थानीय तहको सरोकारवालाहरुसँग बागमती गाउँपालिका कार्यालयमा मंगलबार नै छलफलसमेत गरिएको थियो । गाउँपालिकाका जनप्रतिनिधि तथा कार्मचारीले परियोजनाले गाउँपालिकामा सकारात्मक प्रभाव परेको भन्दै अझै थप गर्नुपर्ने कामहरुको बारेमा सुझाव दिएका छन् । परियोजनाले गाउँपालिकासँग गरेको समन्वयको पनि उनीहरुले प्रसंशा गरेका थिए ।