हेटौंडा/हेटौंडामा बागमती प्रदेश सरकारले दुग्ध पाउडर प्लान्ट निर्माण गर्ने भएको छ । योजना प्रक्रिया अगाडि बढाएसँगै बिहीवार प्लान्ट भवन निर्माण शिलान्यास गरिएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भवन शिलान्यास गरे । हेटौंडा उपमहा– नगरपालिका–१० न्युरेनीस्थित पाउडर प्लान्ट निर्माण गर्न लागिएको हो । प्लान्ट भवन शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले सडकमा दूध पोख्नु पर्ने किसानको बाध्यता हटाउन प्लान्ट निर्माण गर्न लागिएको बताए
किसानले उत्पादन गरेको दूधलाई खेर जान नदिनका लागि पाउडर प्लान्ट निर्माण गर्न लागिएको पौडेलको भनाई छ । किसानले उत्पादन गरेको तरकारी देशैभरी र बिदेशमासमेत निर्यात गर्नका लागि हेटौंडा–११ थानाभ¥याङमा कृषि सुपर मार्केट निर्माण गर्न लागिएको मुख्यमन्त्री पौडेलले बताए ।
करिब एक अर्ब लागतमा धुलो दूध (पाउडर) प्लान्ट निर्माण गर्न लागिएको हो । पाउडर प्लान्टमा महोत्तरी, सर्लाही, रौतहट, पर्सा, चितवन, नवलपरासी र बारालगायत जिल्लाबाट दूध आयात गर्न सकिने छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले निर्माण गर्न लागेको पाउडर प्लान्टमा ६० हजार लिटर दूध प्रशोधन क्षमता हुने बताइएको छ ।
शिलान्यास कार्यक्रममा बागमती प्रदेशका भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामाले सडकमा दुध बग्यो भनेपछि पाउडर प्लान्ट निर्माण गर्न लागिएको बताए । प्लान्टले बागमती प्रदेशसँगै अन्य चार वटा प्रदेशका किसानले उत्पादन गरेको दुध ल्याएर पाउडर बनाउनका लागि सहज हुने उनले बताए । उद्योग स्थापना भएर रोजगारी सृजना गरेसँगै किसानले धेरै गाई, भैंसी पालना गरेर रोजगारी पनि सृजना हुने मन्त्री लामाको
भनाइ छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महत, प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिब डाक्टर मतिना बैध जोसी, केन्द्रीय दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष नारायण प्रसाद देबकोटा लगायतको आतिथ्यता रहेको थियो ।