हेटौंडा/राक्सिराङ गाउँपालिकाको ८ नम्बर वडा कार्यालय नजिकै आधा दर्जन स्थानमा पहिरो जाँदा सेवा प्रभावित हुन पुगेको छ ।
पहिरो पन्छाउन नसक्दा वडा कार्यालय नै सारिएको छ ।
राक्सिराङ–८ तालुका भन्ने स्थानमा सुख्खा पहिरो खस्दा वडा कार्यालय देविटारमा सारिएको हो । वडा कार्यालय देविटार ल्याएपछि स्थानीय करिब ३ सय भन्दा बढी घरधुरी पहिरो खसेको क्षेत्रबाट जोखिम मोलेर वडा कार्यालय भएको स्थानमा आउनु परेको छ । तालुका क्षेत्रमा दुई वटा ठूलो हिरो खसेको र अन्य साना पहिरो आधा दर्जन रहेको जनाइएको छ ।
८ नम्बरका वडा अध्यक्ष रामकृष्ण चेपाङले पहिरो जाँदा वडा कार्यालय नै सारेको बताएका छन् । उनले सुख्खामा संधै पहिरो खस्ने भएकाले वडा कार्यालय नै देविटारमा ल्याइएको जानकारी दिए । ‘तालुकमा संधै पहिरो जान्छ, वर्षामा भन्दा पनि हिँउदमा सुख्खा पहिरो धेरै जाने
गरेको छ । यसरी पहिरो जाँदा सडक अवरुद्ध हुनुका साथै वडाबासीलाई पनि खतरा भयो । त्यसैले कार्यालय नै सारेको हु ।’, चेपाङले भने ।
पहिरो खसेको क्षेत्रबाट पारीतर्फका करिब ३ सय घरधुरीलाई हालको अस्थायी वडा कार्यालयमा आउन कठिन भएको चेपाङ स्वीकार छन् । पहिरोमा हातखुट्टा टेकेर देविटार आउनु पर्ने बाध्यता हटाउन आफू लागिपरेको उनको भनाई छ । ‘पहिरो खसेको स्थान पारी करिब ३ सयको हाराहारीमा घरधुरीहरु छन् । उनीहरु हालको अस्थायी वडा कार्यालय आउन पर्दा पहिरो छिचोलेर आउनु पर्छ । यस समस्या समाधानका लागि गाउँपालिकासँग छलफल
गरिरहेको छु ।’, वडाध्यक्ष चेपाङ भन्छन् ।
तालुका क्षेत्रमा हरेक वर्ष सुख्खा पहिरो खस्ने गरेको वडाध्यक्ष चेपाङ बताउँछन् । पहिरोले तालुकाका घरहरु पनि जोखिममा रहेको उनको भनाई छ । पहिरो भन्दा माथि घरहरु जोखिममा बसेको र उनीहरुको तत्काल स्थानान्तरण गर्नुपर्ने वडाध्यक्ष चेपाङले बताए । संधैको पहिरो खस्ने समस्या
न्युनीकरणका लागि गाउँपालिकाले उचित कार्ययोजना बनाउनु पर्ने स्थानीयको माग छ । भौतिक
संरचना निर्माण गरी पहिरो रोक्ने तर्फ राक्सिराङ गाउँपालिकालाई स्थानीयले ध्यानाकर्षण गराएका छन् ।
स्थानीय इन्द्र तामाङ रुम्बाले सरकारले पहिरो पन्छाउने भन्दा पनि संधैको लागि पहिरो रोक्ने योजना ल्याउनु पर्ने बताए । उनले ८ नम्बर वडाबासीले संधै पहिरोको कारण दुःख पाइरहेको भन्दै तत्काल यसतर्फ ध्यान दिन रुम्बाले गाउँ– पालिकाको ध्यानाकर्षण गराए । ८ नम्बर वडाका पाङबुङ, गोठडाँडा, भाइदुल लगायतका गाउँ पहिरो प्रभावित छन् ।