हेटौंडा/सोमबारबाट हेटौंडा उपमहानगरपालिकामा एन्टिजेन बिधिबाट कोरोना भाइरस संक्रमण परीक्षण सुरु गरिएको छ । पिसिआर बिधिबाट परीक्षणका लागि भिटिएम सकिएको र एन्टिजेन बिधिलाई प्राथमिकता दिँदै आधिकारिकता पाइसकेको कारणले सोमबारबाट नयाँ प्रणालीको सुरुवात गरिएको उपमहानगरपालिकाका जन स्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताए । एन्टिजेन बिधिबाट हरेक दिन बिहान र दिउँसो परीक्षण गर्ने व्यवस्था मिलाइएको चौलागाईंले जानकारी दिए ।
हालका लागि ३ हजार जनाको परीक्षण गर्न मिल्नेगरी एन्टिजेनका लागि आवश्यक सामाग्री उपलब्ध भएको उपमहानगरपालिकाले जनाएको छ । ‘पिसिआर बिधि जस्तै एन्टिजेन परीक्षणका लागि पनि नाकबाट स्वाब निकालिन्छ । स्वाबलाई बफरमा मिसाएर टेस्ट किटमा दुई थोपा राखिन्छ । बफरले भाइरसलाई सक्रिय बनाउने काम गर्छ । किटमा राखेको आधा घण्टापछि रिपोर्ट थाहा पाउन सकिन्छ ।’ चौलागाईंले भने ।
स्वाब राखेको किटमा एउटा धर्को देखिए कोरोना नेगेटिभ र दुईवटा धर्को देखिए पोजिटिभ भएको मानिनेछ । टेस्ट किटमा ‘आर’ र ‘टी’ लेखिएको हुन्छ । ‘टी’ मा धर्को देखिए कोरोना पोजिटिभ भएको प्रमाणित हुन्छ भने ‘आर’मा धर्को देखिए नेगेटिभ मानिन्छ ।