हेटौंडा/मकवानपुर हँुदै तराई–काठमाडौं जोड्ने फाष्ट ट्रयाक (दु्रत मार्ग) निर्माण सुस्त गतिमा अघि बढेको छ । ४५ महिना अवधिमा फाष्ट ट्रयाक निर्माण १६ दशलमव २१ प्रतिशत मात्र प्रगति भएको छ । आर्थिक वर्ष २०८०÷०८१ मा निर्माण सम्पन्न हुने लक्ष्य लिइएपनि निर्माण गति सुस्त हुँदा तोकिएको मितिमा सम्पन्न हुने अवस्था देखिँदैन ।
२०७४ बैशाख १ को मन्त्रिपरिषद्को निर्णयानुसार जेठबाट सेनालाई निर्माण व्यवस्थापनको जिम्मा दिइएको थियो । सेनाले २०७४ जेठबाट यसको निर्माण व्यवस्थापनको जिम्मा पाएको हो । आयोजनाको डीपीआर २०७६ भदौ १ मा स्वीकृत भएको थियो । डीपीआर स्वीकृत हुन ढिलाइ हुँदा निर्माणमा सोचेअनुरूपको प्रगति हुन नसकेको सेनाको दाबी छ । आयोजनाको अनुमानित लागत १ खर्ब ७५ अर्ब छ । अहिलेसम्म १६ अर्ब ६६ करोड रुपैयाँ खर्च भइ– सकेको छ । अर्थात् वित्तीय प्रगति ९ दशमलब ५२ प्रतिशत छ ।
७२ दशमलब ५ किमि दूरी रहेको उक्त मार्गको सुरुङमार्ग निर्माणका लागि ठेक्का गर्ने तयारी हुँदैछ । वैशाखसम्म ठेक्का भएर काम अघि बढ्ने सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए । लामो समय डीपीआर उपलब्ध नहुनु, उपलब्ध भएपछि पनि समयमै सरकारबाट स्वीकृत नहुनु, अन्तर्राष्ट्रिय परामर्शदाता छनोटमा ढिलाइ र कोरोनाका कारण कामलाई राम्रोसँग अघि बढाउन नसक्नु लगायत आयोजना ढिलाइ हुनुका मुख्य कारण रहेको उनको भनाइ छ ।
आयोजनामा तीन वटा ६ दशमलव ४१ किमि सुरुङ निर्माण गरिनेछ । त्यस्तै १० दशमलव ५९ किमिका ८७ वटा पुल निर्माण हुनेछ । माटो काट्ने र पुर्नुपर्ने सडकको दूरी भने ५५ दशमलव ५ किमि छ । माटो काट्ने र पुर्ने काम ८८ प्रतिशत सकिएको आयोजनाले जनाएको छ । सुरुङ निर्माणका लागि अहिले जियो टेक्निकल र जियो फिजिकल इन्भेस्टिकेसनको काम भइरहेको छ । अन्तर्राष्ट्रिय परामर्श दाताका रुपमा भने कोरियन कम्पनी युसिन इन्जिनियरिङ करर्पोरेसन छानिएको छ ।
अन्तर्राष्ट्रिय परामर्शदाता सँग असार १ मा सम्झौता भएसँगै काम अघि बढेको आयोजनाले जनाएको छ । जियोटेक्निकल अन्तर्गत उक्त मार्गमा पर्ने महादेवटार, धेग्रे र लेनडाँडामा गरी १८ वटा बोर होल्स ड्रिलिङको काम अन्तिम चरणमा छ । ड्रिलिङ सकिएका क्षेत्रको स्याम्पल जम्मा गरेर परीक्षण थालिएको छ । सुरुङ निर्माणका लागि प्रिक्वालिफिकेसनमा ४४ निर्माण कम्पनी इच्छुक देखिएका छन् । जसबाट बढीमा ६ वटा निर्माण कम्पनी छानेर दुई वटालाई निर्माणको जिम्मा दिइनेछ । सुरुङको ठेक्का भएलगत्तै पुलहरुको ठेक्का प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ ।
मख्खुबेंसी, महादेवटार, मकवानपुरको लेनडाँडा, राजदमार र निजगढमा सहित ५ स्थानमा ल्याब भवन निर्माण भई आधारभूत ल्याब इक्विपमेन्ट जडान
गरी निर्माणको आधारभुत गुणस्तर परीक्षणको व्यवस्था मिलाइएको आयोजनाले जनाएको छ ।
अन्तर्राष्ट्रिय परामर्श दाताका अनुसार एडभान्स ल्याब इक्विपमेन्ट व्यवस्था गरिनेछ । ललितपुरको खोकनातर्फ भने जग्गाको विवाद अझै टुंगिसकेको छैन । अहिलेसम्म ८४ प्रतिशत जग्गा धनीले मात्र मुआब्जा बुझेका छन् । १६ प्रतिशतले अझै बुझेका छैनन् । खोकनातर्फ रेखांकनमा परेका स्थानमा स्थानीयको विवादका कारण काम अघि नबढेको र विवाद समाधानको पहल भइरहेको आयोजनाले जनाएको छ । त्यस्तै रुख काट्ने र रोप्ने काम पनि सकिएको छैन।
सुरुमा आयोजनाको २०६९ देखि २०७१ सम्म सेनाले ट्याक खोल्ने काम ग¥यो । पछि निर्माण व्यवस्थापनको जिम्मा पनि सेनाले नै पाएको हो । चार लेन सडकको ५३ किमि क्षेत्र मकवानपुर, काठमाडौं ४ किमि, ललितपुर ७ दशमलव ९ र बारामा ७ दशमलव ६ किमि पर्छ । सडक सञ्चालनमा आएपछि एक÷डेढ घण्टामा काठमाडौं बाट मकवानपुर हुँदै बारा पुगिने छ ।