मान्छेहरुलाई फेरि लाग्न थालेको छ, अब के हुन्छ ? भोलि के होला ? कलाकार मनोज गजुरेलकै शब्दमा भनौं ‘ढुक्क हुनुहोस् केहि नहुन्जेलसम्म केहि हुँदैन ।’ आज या भोलि केहि हुनलाई हिजो केहि नयाँ भएको हुुनपर्छ । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि  देश अस्थिरता तर्फ धकेलिन लाग्यो भन्दै धेरैले रोइलो गरेको छन् । हाम्रोमा यस अघि कहिले चांही स्थिरताको अभ्यास भएको थियो र ? अनि ओली, प्रचण्ड, माधव नेपालसँग बढी अपेक्षा गरेको हौं भने त्यो उनीहरुको गल्ती होइन । हाम्रो भ्रम हो । कोदो पेलेर तेल आउने सपना देखेका थियौं भने त्यो कमजोरी थियो । उनीहरुबाट हुने नै यहि हो भने अब के होला भनेर समय बर्बाद नगरौं । 
अब विगत तर्फ जाऔं । वि.सं. २००७ मा प्रजातन्त्र आयो । पन्ध्रमा विपी प्रथम जननिर्वाचित प्रधानमन्त्री भए । सत्रमा राजा महेन्द्रले दलहरुलाई प्रतिबन्ध लगाए । ती घटनाक्रमपछि देशमा केहि भयो । अहँ केहि भएन । वि.सं. २०४६ मा देशमा पुन प्रजातन्त्र आयो । २०५२ मा माओवादीले सशस्त्र छापामार युद्ध थाल्यो । सत्र हजार निर्दोष नेपालीले ज्यान गुमाए । ६२÷६३ मा जनआन्दोलन भयो, लोकतन्त्र आयो भनियो । वि.सं. २०६४ देखि ७४सम्ममा तीन पटक चुनाव भयो । नयाँ संविधान बन्यो । देशले एकदशकमा करिब बर्षै पिच्छे प्रधानमन्त्री पाई राख्यो । मन्त्री र सांसदको संख्याको त कुरै छोडौं । सिंहदरबार र बालुवाटारका भित्ता भरिसके होलान् । नेमप्लेट बनाउने पेन्टर थाकी सके होलान् । आखिर देशमा यतिका

धेरै परिवर्तन त भइसकेको रहेछ । तर पनि केहि भएको छ त ? त्यसैले फेरी पनि ढुक्क हुनुस् केहि हुँदैन । धर्ती फाट्नेवाला छैन, आकाश चोईटिने पनि छैन । सगरमाथा समुन्द्र बन्ने पनि छैन । अनि समुन्द्र नै नभएको हाम्रो देशमा छाल पनि आउने छैन । त्यसैले आत्तिएकाहरु नआत्तिनुस्, फुर्किएकाहरु नमात्तिनुस् केहि हुने वाला नै छैन । यस्ता काण्डा र फण्डा त कति भए कति खै त के भयो ? अहिले फेरि भएको यत्ति हो, सांसदहरुको जागिर खुस्कियो । नचाहँदा नचाहँदै २,४ थान मन्त्री राजिनामा धस्काउन बाध्य भए । बेमौसमको चुनाव घोषणा गरेर
राज्यको ढुकुटी सिध्याउन लागे भन्ने कतिलाई चिन्ता होला । अब भन्नुस् त त्यो ढुकुटी जोगिँदा पनि त जनतालाई के भएको थियो र खै ? तसर्थ तपाई हामी भुईमान्छेलाई केहि भएपनि केहि हुनेवाला छैन । यसको मतलब हामी जनता न उत्तेजित भई हाल्नुपर्छ न हतोत्साही नै । घाटा या नाफाको हिसाब त टाउकेहरुकै लागि हो ।
ए साँच्चै केहि चाही फेरी अवश्य हुन्छ है, ढुक्क हुनुस् । उसो भए के हुन्छ त ?
‘प्वाक्क आफैले आफैलाई प्रश्न सोधें ।’ उत्तर पनि आइहाल्यो । हिजो जे भएको थियो त्यही नै हुन्छ । संसद विघटनको पक्ष र विपक्षमा गरम गरम बहस हुन्छन् । अब केहि दिन या महिना सम्म स्वघोषित विश्लेषकहरुको चर्का–चर्का अन्तरवार्ता टेलिभिजनका पर्दा र युट्युव च्यानलहरुमा हेर्न पाईन्छ । पत्रपत्रिका र न्युजपोर्टलहरुमा क्षण क्षणमै न्युज ब्रेकिड हुन थाल्छन् । गाउँका चिया पसलहरुमा झिसमिसे देखि भटीहरुमा
मध्यरातसम्म समस्याको चुरो खोज्न वादविवाद चल्नेछ । कतिले टाउको फोरा फोर गर्लान् । हामी कहाँ ठाउँ र स्तर अनुसार एकसे एक बिश्लेषक छँदैछन् । कुनै एउटा दलको टयाग नभिरी कोही बस्नै सक्दैन । विद्यार्थीदेखि शिक्षक सम्म डाक्टरदेखि इन्जिनियरसम्म सबैको
आ–आफनै दलीय संगठन छँदैछ । कामबिहीन बेरोजगारहरु गाउँदेखि शहरसम्म हिमालदेखि
तराईसम्म यत्रतत्र सर्बत्र छँदैछन् । तिनीहरुले फेरी काम पाउने नै भए । काम भएका रोजगार कर्मीलाई पनि राजनीतिक बहस गरेर समय काटने अवसर जुरी हाल्यो । हो यो सब हिजो भएकै थिए त्यसैले आज या भोलि पनि हुने यत्ती नै हो ।
वास्तवमा केहि चाहीं फेरी अवश्य हुन्छ है । कोरोनाकालमा बढदो पक्ष बिपक्षको जुलुसले कि कोरोना ह्वात्तै बढाउनेछ । कि कोरोना यतिमै सिमित रह्यो भने कोरोनाको डर भ्रम हो भन्ने पुष्टी गर्नेछ । किनकी हाम्रोमा जस्तो परिस्थिती होस् सभा, जुलुस, चक्काजाम, नेपाल बन्द, तोडफोड नगरी राजनीतिक गतिबिधी हुने त कुरै भएन । हिजो सिकाउनेले पनि त्यही सिकाए । आज सिक्नेले पनि त्यो भन्दा बढी केहि सिकेन । त्यसैले त हामी हिजो जहां थियौं त्यहीं नै छौं । यो परिवर्तन, विकास, समृद्धी, सुशाशन त नेताले भाषणमा भन्ने कुरा हो । अहिले च्याउसरी उम्रेका ठुटे नेताहरुले पनि त्यही नै सिकी रहेका छन् । यसर्थ हामीले अनियमितता, भ्रष्टाचार, कुशाशनको प्रतिस्पर्धामा एसियालाई उछिनी सक्यौं । अब बाँकी विश्वलाई पनि जित्ने दौंडमा छौं । स्थिरता, त्यागी र इमान्दार नेतृत्व पाउने त नेपालीको भाग्यमा लेखेको छैन । हामीलाई चौसाठी सालपछि शान्ती, स्थिरता, समानता आई हाल्यो जास्तो लाग्यो । चौहत्तरमा आई पुग्दा त अब बिकासको मुल नै फुटने भयो जस्तो गरयौं । निःशुल्क शिक्षा, स्वस्थ्य, रोजगार, रेल पानीजहाज, घर घरमा ग्याँस पाईप विकास त कति हो कति । दिउँसै सपना देख्न थाल्यौ । जुन हिजो पनि पटक पटक देखेकैै थियौं ।
तानातान, हानाहान अनि अस्थिरता त दुई तिहाईको जादुले सखाप पार्छ भन्ने ठान्यौं । जुन तीन बर्ष पनि टिक्न सकेन । हिजो पनि भएको यही थियो । दुई तिहाईमा पनि त्यही भयो । केहि नयाँ भएकै छैन । वास्तवमा देश चलाउछु भन्ने ले जानेकै यत्ति नै हो । कति देशप्रेमीलाई चिन्ता पनि होला देश अझ बिग्रने भयो ? कतिले भन्न थाली सके अझ ठुलो संकट आउने भयो ? सोच्नुस त, अझ पनि देश बिग्रने ठाउँ छ र ? कस्ता कस्ता संकट त पचाई सक्यौं हामीले । हत्या, आतंका, त्रासदी कति कति । उनीहरुको व्यक्तिगत स्वार्थको लडाइँमा हिजो पनि जनता पिसिएकै थिए । आज पनि पिसिएकै छन् । पात्राहरु उही, पबृत्ति उही, पारा उही ।
अनि अर्को कुरा कमरेड केपी ओलीको ठाउँमा कमरेड प्रचण्ड या माधव नेपाल भएको भए संसद विघटन हुन्थ्यो हुन्थेन त्यो तपसिलको कुरा हो । तर देश भने आज जहाँ छ त्यहीं नै हुने थियो । कुशाशन, भ्रष्टाचार, अनियमितता, नाताबाद, कृपाबाद, ब्रम्हलुटको अवस्था उही नै हुने थियो । किनकी उनीहरुको सफलता पनि हिजो देखि सकेकै हो । अब पनि फेरी के होला भनेर टाउको नदुखाउनु होला ।
अझ महत्वपुर्ण कुरा त भन्नै भुलिएछ । बैशाखमा चुनाव होला नहोला तर एक दिन चाही अवश्य हुनेछ । त्यो चुनावमा तपाई हामी माझ उनीहरु फेरी आउने छन् । टिभीको
स्क्रिनमा मात्र देखेका उनीहरुलाई आँखै अगाडी देख्न पाउँदा भगवान नै पैदा भए जस्तो गर्ने छौं । ‘उनीहरु आउन थालेपछि झुपडीहरुमा स्वर्ण युगको बहार आउनेछ । भोका नांगाहरुको पनि दिन आउनेछ । कोही बेरोजगार बस्ने छैन । देशमा रामराज्य छाउनेछ ।’ चर्का चर्का स्वरमा यो सब सुनिरहेका हामीहरु फेरी केहि बर्षपछि दंग पर्नेछौं । पेटमा भोकको ज्वाला छुटेपनि, शरीर नांगै भएपनि, आकाशकै छानो हालेर फेरी एक पटक आफनो नेतालाई जिताउन तछाडमछाड गर्ने नै छौं । उनीहरुका लागि बुथ कब्जा गर्न जानेछौं । मतपत्र च्यातेर, टाउको फोरा फोर गरेर भएपनि चुनाव जिताउन कुनै कसर बांकी राख्ने छैनौं । चुनाव जिताएर फर्काएपछि फेरी हामी गाली गर्न थाल्नेछौं । खै त बिकास, खै त शुशाशन, खै निशुल्क स्वस्थ्य, शिक्षा के भयो
रोजगारका नारा आदी आदी ।
केहि बर्ष पछि फेरी उनीहरु उसै गरि फर्केर आउनेछन । हामी सबै भुल्नेछौं । उनीहरुलाई देखेर उसैगरी छक्क पर्नेछौं । देशले यसैगरी हारी रहेनेछ । उनीहरुले पटक पटक जिति रहनेछन । जव सम्म हामीले उनीहरुलाई सहि रुपमा चिन्न सक्दैनौं तव सम्म यहि चक्र चलिरहनेछ । अरु केहि हुने छैन ।
कथंकदाचित चुनाव छिटै भईदिई हाल्यो भने केहि चाहिं फेरी अवश्य हुनेछ । लुकाइएको कालोधनको बर्षा हुनेछ । ती पैसाले निरिह गरिब, असहायको स्वभिमान माथी फेरी खेलवाड गरिनेछ । भोटको खरिद बिक्री
गरिनेछ । सँधै यसैगरी स्वभिमान माथी खेलवाड गर्न चाहने उनीहरुको छलकपट सोझा
गरिवहरुलाई जहिलेसम्म थाहा हुँदैन तबसम्म केहि हुँदैन । जबसम्म अभाव र गरिबी ती नेताका निम्ती अवसर बनि राख्नेछ तबसम्म केहि हुने वाला छैन । यहि प्रवृत्ती भएकाको हातमा सत्ता र शक्ति रहेसम्म यस्ता काण्डा, फण्डा र उदण्ड त मच्ची नै रहनेछ । फेरी चुनाव होला काँग्रेस, कम्युनिष्ठ, राजाबादी अनेकथरीेले जित्लान् । तर हाम्रो भोटमा चोट पु¥याउनेले जबसम्म जित्नेछन् तबसम्म केहि हुँदैन । त्यसैले उनीहरु रहेसम्म र यही अवस्था रहे सम्म फेरी पनि भन्नैपर्छ हामी भुई मान्छेका लागि केहि हुदैन ।