हेटौंडा/पूर्व उपप्रधान मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बिदेशीहरुको डिजाइन अनुसार नेपाललाई धार्मिक सांस्कृतिक उपनिवेश बनाउन धर्म निरपेक्षता लादेको आरोप लगाएका छन् ।
हेटौंडामा बुधबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले ०६२÷६३ को आन्दोलनमा बिदेशीको प्रभाव, प्रायोजन र लगानी रहेको भन्दै त्यो बाटोबाट मुलुक दुर्घटना हुने बुझेर नै राप्रपा र आफु गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विपक्षमा उभिएको स्पष्ट पारे ।
बिगत १४ बर्षको गलत अभ्यास र प्रयोगबाट बर्तमान व्यवस्था, प्रणाली र संविधानमाथि गम्भीर प्रश्न चिन्ह खडा भएको भन्दै थापाले संसद विघटनको घटना बाट मुलुक थप जटिलतातर्फ फसेको बताए ।
अब यसलाई अबसरको रुपमा सदुपयोग गर्न त्रुटीपूर्ण मार्गचित्र सच्याउने हिम्मत र साहस आवश्यक भएको थापाको दाबी छ । क्रान्तिको नाममा बन्दुक बोक्न लगाउनेहरु आज कहाँ छन् ? उनले प्रश्न गरे । थापाले लोकतन्त्रको नाममा ब्रम्हलुट भइरहेको आरोप लगाउँदै एक आपसमा सर्वसत्ताबादीको आरोप प्रत्यारोप गर्ने कम्युनिस्टहरुले हिजो राम्रो बीउ रोप्न नसकेको बताए ।
एउटा राजा हटाएर सैयांै राजा जन्माउने व्यवस्था र प्रणाली अब चल्न नसक्ने थापाको दाबी छ । लोभ, लालच र प्रलोभन दिइ योजनाबद्ध रुपमा गाउँका गाउँ धर्म परिवर्तन गराउने कार्यप्रति थापाको कडा आपत्ती थियो । कार्यक्रममा बोल्दै पार्टीका कार्य सम्पादन समिति सदस्य मधु अधिकारीले अदुरदर्शी, असक्षम र भ्रष्ट नेतृत्वबाट मुलुक अघि बढ्न नसक्ने भन्दै राप्रपालाई मुलुकको बैकल्पिक शक्तिको रुपमा स्थापित गर्नुपर्ने बताए ।
कार्यक्रममा नेताहरु नबराज बिष्ट, रामहरी न्यौपाने, गुरु प्रसाद सापकोटा, इन्दिरा डल्लाकोटी, शुक्र प्रजा, रामहरी खतिवडा, कृष्ण प्रसाद घिमिरेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।