हेटौंडा/ नेपाली कांग्रेस मकवानपुरले केन्द्रीय समितिकोनिर्णय अनुसार पुस २५ गते शनिबार जिल्लाको ४ स्थानमा विरोध प्रदर्शन गर्ने भएको छ ।
संसद विघटन तथा ओली सरकार विरुद्ध केन्द्रीय समितिको निर्णय अनुसार गर्न लागेको देशव्यापी विरोध कार्यक्रम अनुसार मकवानपुरका प्रदेशसभा निर्वाचन क्षेत्र अन्तर्गतका ४ स्थानमा विरोध प्रदर्शन गर्ने भएको हो । विहीबार नेपाली कांग्रेस मकवानपुरले पत्रकार भेटघाट कार्यक्रममा आयोजना गर्दै यस बारेमा जानकारी गराएको हो ।
पत्रकार भेटघाटमा बोल्दै नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले पुस २५ गते शनिबार जिल्लाभर प्रदेश निर्वाचन क्षेत्रका ४ स्थानमा विरोध प्रदर्शन गर्ने बताएका छन् । मकवानपुर प्रतिनिधिसभा–१ ‘क’ अन्तर्गत् छतिवन, १ को ‘ख’ अन्तर्गत् हेटौंडा–४, बुद्धचोकमा त्यसैगरी मकवानपुर प्रतिनिधिसभा क्षेत्र २ को ‘क’ अन्तर्गत् थाहानगरको बज्रबाराही र ‘ख’ अन्तर्गत मनहरी बजारमा
विरोधसभाको आयोजना गरिने प्रवक्ता कोइरालाले बताए।हेटौँडामा हुने विरोधसभालाई भने कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रवक्ता कोइरालाले बताएका छन्।
पत्रकार भेटघाट कार्यक्रममा कांग्रेस मकवानपुरका सल्लाहाकार माइकल रामचन्द्र अर्याल, पार्टी सचिव आन्नद कठायत, क्षेत्र नम्बर–३ का सभापति तारानाथ चौलागाईं, क्षेत्र नम्बर–३ का सचिव घनश्याम नेपाल लगायतकाको उपस्थिति रहेको थियो ।