हेटौंडा/ बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गृह जिल्लाकै सांसदहरु आफ्नो विरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकोभन्दै आक्रोश व्यक्त गरेका छन् ।
उद्योग संघ मकवानपुरको १९ औं साधारणसभाको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले आफ्नै पार्टीका सांसद्हरुले आफूविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्तावलाई परास्त गर्ने गरी आफूले तयारी गरिरहेको भएपनि आफ्नै जिल्लाका सांसद्हरु विरुद्धमा लागेकोभन्दै दुःख व्यक्त
गरेका छन् । मुख्यमन्त्री पौडेलविरुद्ध नेकपाको दाहाल–नेपाल समूहले पुस १० गते ४५ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गराएको थियो ।
‘आफ्नै जिल्लाका सांसद्हरुले समेत मेरो विरुद्धमा हस्ताक्षर अभियान सञ्चालन गरे । अब विकास विरोधीहरु को रहेछन् भनेर जनताले चिन्ने दिन आएको छ ।’, मुख्यमन्त्री पौडेलविरुद्ध मकवानपुरका नेकपाका सांसद् मुनु सिग्देल, कुमारी मोक्तान, प्रेमबहादुर पुलामी, ओमबहादुर ग्लानले हस्ताक्षर गरेका छन् ।
मुख्यमन्त्री पौडेलले आफूविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव फेल हुने दावी गरेका छन् । ‘अब बस्ने प्रदेशसभाको बैठकबाट अविश्वासको प्रस्तावको विषयलाई प्रक्रियागत ढंगबाट टुंगो लगाउनेछ ।’, पौडेलले आफूविरुद्ध आफ्नै जिल्लाका सांसदहरुले समेत हस्ताक्षर गरेको प्रति रोष प्रकट
गरे । प्रदेशसभाको बैठक माघ ७ गतेका लागि डाकिएको छ । कुल एकसय १० प्रदेशसभा सदस्य रहेको वाग्मती प्रदेशमा मुख्यमन्त्रीको पक्षमा ३४ मत रहेको छ । मुख्यमन्त्री पौडेलले अविश्वासको प्रस्तावलाई परास्त गर्न आफूले विभिन्न दलहरुसँग आन्तरिक छलफल गरिरहेको समेत बताएका छन् ।
कार्यक्रममा नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले नेकपाको वर्तमान नेतृत्व पूर्णरुपमा असफल सावित भइसकेको दावी गरे । ‘कम्युनिष्ट सरकार देशमा असफल भइसकेका छन् । अहिले असंवैधानिक कदम धमाधम अगाडि बढिरहेको छ ।’, उनले कम्युनिष्ट सरकारको असंवैधानिक कदमको विरुद्धमा काँग्रेस सडक संघर्षमा रहेको दावी गरे ।
उद्योग संघ मकवानपुर अध्यक्ष लेखराज पोखरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रियसभा सदस्य रामनारायण विडारी, बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेल, संविधानसभा सदस्य अनन्तप्रसाद पौडेल, उद्योग परिसंघ नेपाल केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, प्रमुख जि ल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, चितवन उद्योग बाणिज्य संघ अध्यक्ष राजन पौडेल, होटल एसोसिएसन अध्यक्ष शंकरलाल श्रेष्ठ तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष प्रताप विष्टलगायतले मन्तव्य व्यक्त गरेका थिए ।