हेटौंडा/ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जिल्लाको चारवटा स्थानमा सरकारको पछिल्लो कदमको विरोधमा प्रदर्शन गरेको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विघटन गरेर निर्वाचनको मिति घोषणा गरेसँगै कांग्रेस आन्दोलनरत् छ ।
आन्दोलनअन्तर्गत् कांग्रेसले मकवानपुरको थाहानगरपालिका, मनहरी गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकामा विरोधसभा आयोजना गरी प्रतिनिधिसभा विघटन, भ्रष्टाचार र सरकारले गरेको गलत कार्यको विरोध गरेको हो । कांग्रेसले शनिबार सरकारविरुद्ध देशभरका ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रमा सरकारविरुद्ध गरेको हो ।
हेटौंडामा भएको प्रदर्शनलाई सम्बोधन गर्दै कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कम्युनिष्ट
सरकारले लोकतन्त्रमाथि नाड्डो हस्तक्षेप गरेको भन्दै अब कांग्रेसले त्यसकोविरुद्ध जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताए । केसीले कांग्रेस ताजा जनादेशमा जान नडराउने तर, संविधानरिुद्ध भएको ठाडो हस्तक्षेप भने सहेर नबस्ने बताएका हुन् ।
थाहा नगरको बज्रबाराहीमा भएको विरोधसभामा नेपाली कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डीना’ले ओली कदम तत्काल फिर्ता हुनुपर्ने बताएकी थिइन् । उनले सरकार भ्रष्टाचारमा डुबेर जनमतको खिल्ली उडाइरहेको आरोप लगाइन् ।
मनहरीमा भएका सभामा बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँले बैशाखमा निर्वाचन भएमा चुनावमा जान कांग्रेस तयार रहेको बताएका छन् । उनले संविधानको मर्म र भावना विपरित गरिएको संसद् विघटनलाई बदर गरी संसद् पुनस्र्थापना गर्नुपर्ने माग गरे । ‘असंवैधानिक र अलोकतान्त्रिक रुपमा गरिएको संसद् विघटनलाई पुनस्र्थापना गर्नुपर्छ भन्ने हाम्रो माग हो’, नेता बानियाँले भने,‘हामी न्यायालयको निर्णय सम्मान गर्छौं । यदी संसद् विघटनकै पक्षमा निर्णय आयो भने हामी चुनावमा जान तयार छौं ।’ नेपाल कम्युनिष्ट पार्टी अहिले सत्ताको स्वार्थ र भागबण्डा नमिलेर दुईभागमा विभाजन भएको आरोप लगाउँदै कम्युनिष्ट पार्टीलाई मिलेरै चुनावमा आउन चेतावनी दिए ।
बकैयाँमा भएको प्रदर्शनमा प्रदेश सचिव सुवात सिंह थिङको सभाध्यक्षता रहेको थियो । कांग्रेस जिल्ला सचिव बुद्ध लामाको प्रमुख आतिथ्यतामा रहेको थियो । विरोध कार्यक्रमलाई कांग्रेस मकवानपुर कोषाध्यक्ष गोपीलाल विक,जिल्ला सहसचिव रामबाबु बानियाँ,कांग्रेस मकवानपुर सल्लाहकार दामोदर सुवेदी, नेपाली कांग्रेस संघिय क्षेत्र नम्बर १ को सभापति तथा बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाललगायतले सम्बोधन गरेका थिए ।