हेटौंडा/ सत्तारुढ नेकपा फुटको अन्तिम अवस्थामा आइपुग्दा वडा तहसम्मका कार्यकर्ताहरु कित्ता क्लिएर गरिरहेका छन् । उनीहरुलाई आआफ्नो पक्षमा तान्नका लागि ओली पक्ष र दाहाल–नेपाल पक्ष कोशिस गरिरहेका छन् ।
मकवानपुर जिल्लामा रहेका दशवटा स्थानीय तहमध्ये आठवटामा नेकपाको नेतृत्व रहेको छ । जसमध्ये सातजनाले आफ्नो समूह निर्कोल गरेर विभिन्न बैठक तथा सम्मेलनहरुमा सहभागी हुन थालिसकेका छन् । तर, बागमती प्रदेशको एकमात्र उपमहानगरको नेतृत्व गरिरहेका हेटौंडाका मेयर हरिवोल महत भने अझै आफ्नो समूह क्लिएर गरेका छैनन । उनी अहिले दोधारको अवस्थामा रहेका छन् । कुन समूहमा बस्ने भन्ने अझै निर्णय नगरेका मेयर महतलाई दुवै समूहले आफ्नो भेलामा उपस्थिति हुन अनुरोध गरिरहेको भएपनि उनी कुनैपनि भेलामा सहभागी भएका छैनन् ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै हेटौंडामा दाहाल–नेपाल पक्षले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा हेटौंडा उपमहानगरपालिकाका मेयर महत अग्रस्थानमा देखिएको थिए । त्यसपछि अर्को समूहबाट पनि उनलाई भेलामा उपस्थित हुन अनुरोध बारम्बार भएपनि उनी विभिन्न बहाना बनाएर पन्छिरहेका छन् । ‘पार्टी कार्यालयमै कार्यकर्तालाई विचलित नहुन आव्हान गर्नका लागि जिल्ला अध्यक्ष मुनु सिग्देल र इञ्चार्ज विरोध खतिवडाले बोलाएपछि मेयर महत दाहाल–नेपाल भेलाले आयोजना गरेको कार्यक्रममा उपस्थित भएका हुन् । तर, अझै कित्ता क्लिएर भइसकेको छैन ।’, उनी निकट स्रोतका अनुसार मेयर महतलाई ओली पक्षबाट बैठकमा उपस्थित हुन बारम्बार आग्रह गर्दा समेत विभिन्न बहाना बनाएर पन्छिने गरेका छन् ।
स्रोतका अनुसार भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र बागमती प्रदेशका पूर्वसामाजिक विकास मन्त्री युवराज दुलालले बारम्बार फोन गरेर ओली समूहको भेलामा उपस्थित नहुन अनुरोध गरिरहेका छन् । रेणु नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी हुन् । स्रोतका अनुसार मेयर महत र रेणुबीच नजिकको सम्बन्ध रहेको छ । मेयर महतलाई बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समेत ओली समूहमा आउन आग्रह गरिरहेका छन् ।
ओली पक्षका नेताहरुका अनुसार शनिबार हेटौंडामा उपप्रधानमन्त्री इश्वर पोखरेलको उपस्थितिमा भएको भेलामा उपस्थित हुने प्रतिबद्धता मेयर महतले जनाए पनि अन्तिम अवस्थामा आएनन् । ‘एकछिन भएपनि कार्यक्रम आउँछु भनेर प्रतिबद्धता जनाएका थिए । तर, अन्तिम अवस्थामा आएनन् ।’, ओली पक्षका नेताहरुलाई मेयर महतले आफु जरुरी काममा जानुपर्ने भएका कारण देखाएर पन्छिएको छन् । ‘हाम्रो भेलालाई छल्नका लागि शनिबार कुखुरा व्यवसायीको साधारण सभालाई समेत तोकिएको समयभन्दा अगाडि सुरु गर्न लागेर मेयर महत आएनन् ।’, उनले भने ।
स्रोतका अनुसार मेयर महत दुवै समूहको भेलामा उपस्थित हुन दबाब आउने सम्भावना देखेपछि मोवाइल समेत स्वीच अफ गर्ने गरेको बुझिएको छ । ‘मोवाइल अफ गर्ने मात्र होइन । कहिलेकाहिँ मेयर सा’ब जिल्ला बाहिर समेत जान थाल्नु भएको छ ।’, उनले भने ।
मकवानपुरको स्थानीय तहमध्ये थाहा नगरपालिकाका मेयर लबशेर विष्ट, बागमती प्रमुख सर्केश घलान, गढी प्रमुख विदुर हुमागाईं, इन्द्रसरोबर प्रमुख जीवन लामा, कैलाश गाउँपालिका प्रमुख टंक मोक्तान दाहाल–नेपाल पक्षका हुन् । ओली समूहमा मनहरी अध्यक्ष एकराज उप्रेती, भीमफेदीका प्रमुख हिदम लामा छन् ।