हेटौंडा/ बागमती प्रदेश सरकारले विभिन्न तीन स्थानमा सुरुङ मार्ग निर्माणका लागि टेण्डर प्रक्रिया अगाडि बढाउने भएको छ ।
चालु आर्थिक वर्षभित्रमा ठेक्का सम्झौता गर्ने गरी बागमती प्रदेश सरकारले मकवानपुरमा दुईवटा र काठमाडौंमा एउटा सुरुङमार्ग निर्माण प्रक्रिया अगाडि बढाएको हो । बागमती प्रदेशका भौतिक पूर्वधार विकास मन्त्री रामेश्वर फुयाँलका अनुसार तीनवटै ठेक्का प्रक्रिया आव्हानको अन्तिम तयारी भइरहेकोछ । ‘टेण्डर प्रक्रिया अगाडि बढाउने अन्तिम तयारीमा मन्त्रालय पुगिसकेको छ । अब छिट्टै सम्झौता हुनेछ ।’, उनका अनुसार चालु आर्थिक वर्षभित्रमा निर्माण सुरु गर्ने गरी सम्पूर्ण प्रक्रिया पूरा गर्ने तयारीमा मन्त्रालय पुगेको छ ।
मन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौंटाबाट संघीय राजधानी काठमाडौं जोड्नेसहित तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्न लागिएको जानकारी दिए । हेटौंडा–वीरगञ्ज सडकखण्डमा पर्ने चुरियामाई मन्दिर परिसरमा रहेको १०४ वर्ष पुरानो २०० मिटर सुरुङ मार्ग निरीक्षणका क्रममा उनले काठमाडौंको बूढानीलकण्ठ र गोकर्णेश्वर–बालुवाताल तथा मकवानपुरको भीमफेदी–कुलेखानी पोष्टबहादुर बोगटी सुरुङ मार्ग निर्माणका लागि बजेट विनियोजित गरिसकिएको बताए । ‘सुरुङमार्ग मात्र होइन । भौतिक पूर्वाधारका लागि बहुवर्षेअन्तर्गत् रहेका कुनै पनि आयोजनालाई बजेटको अभावहुँदैन ।’, उनले भने । भीमफेदी–कुलेखानी सुरुङ मार्गका लागि प्रदेश सरकारले करिब एकअर्ब तीनकरोड ६० लाख रुपैयाँ बजेट विनयोजन गरेको छ ।
भीमफदी–कुलेखानी सुरुङ मार्गको लम्बाई २.२५ किलोमिटर हुनेछ । ११ मिटर फराकिलो सुरुङमार्ग २ लेनको हुनेछ । आपतकालिन अवस्थामा प्रयोग हुने गरीसँगै ५ मिटर फराकिलो अर्को सुरुङ मार्ग पनि बन्ने र सुरुङमार्गसँगै ग्यास र इन्धनको पाइपलाइन बनाउने गरी काम अघि बढाउने गरी टेण्डर आव्हान गरिने उनले बताए । सुरुङ मार्गमा मानिस, मोटरसाइकल र साइकल पनि प्रवेश गर्न नदिइने उनले बताए । भारतबाट हाल अमलेषगञ्जसम्म आएको पेट्रोलियम पाइपलाइन काठमाण्डौ पु¥याउने सहज हुने भएकाले संघीय सरकारको सहलगानीमा यस मार्ग बनाउन लागिएको हो । इटेको नेपाल प्रालिले सातवटा फरक फरक विषयमा सुरुङ मार्गको प्राविधिक अध्ययन गरेको थियो । इटेकोले माघ महिनादेखि वैशाखसम्म अध्ययन गरेको थियो । भौतिक पूर्वाधार विकास मन्त्रालयका इञ्जिनियर पुण्यराम सोलुले भौगोलिकरुपमा सुरुङमार्ग निर्माणमा कुनै कठिनाइ नआउने प्रतिवेदन प्राप्त भएको र थप प्राविधिक अध्ययन आगामी आवमा पनि जारी रहेन उनले बताए ।
उनका अनुसार भीफफेदी गाउँपालिका–६ देखि इन्द्रसरोवर गाउँपालिका–३ सम्म बन्ने सुरुङ मार्ग बन्नेछ । सुरुङ मार्गसँग जोडिने कुलेखानी–फाखेल–काठमाडौं, कुलेखानी–सिस्नेरी–काठमाडौं र भैंसे–भीमफेदी सडक खण्डको स्तरोन्नति तथा फराकिलो बनाउने काम भइरहेको छ । मकवानपुरको तर्फको भीमफेदी र इन्द्रसरोवर गाउँपालिका र काठमाडौंतर्फको दक्षिणकाली नगरपालिकाले सुरुङ मार्गका लागि आवश्यक समन्वय गर्ने सहमति यसअघि नै जनाइसकेका छन् ।
उनले आफ्नो मन्त्रालयले तीनै सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्ने क्रममा कानूनी प्रक्रिया पूरा गरिरहेको र केही दिनभित्रै सूचना प्रकाशन गरिने दावी गरे । मन्त्री फुयाँलले प्रदेशका जनतामा विकासप्रतिको भरोसा दिलाउन इञ्जिनीयर र प्राविधिकलाई इमान्दारीका साथ काम गर्न निर्देशन पनि दिइसकेका छन् । ‘सुरुङ मार्ग निर्माणपश्चात् हेटौंडा–काठमाडौं बीचको दुरी छोट्टिनेछ ।’, उनले सुरुङ मार्ग निर्माणपश्चात् आर्थिक र समाजिक क्षेत्रमा प्रदेशले मात्र नभएर देशले नै फड्को मार्ने दावी गरे ।
उनले पूर्वाधार मन्त्रालयद्वारा केही दिनअघि पदपूर्तिका लागि दिइएको प्रयोगात्मक परीक्षामा उत्तीर्ण २२ इन्जिनीयरलाई स्वागत पनिर गरिसकेका छन् । मन्त्री फुयाँलले हेटौंडा उपमहानगरपालिका–१५ स्थित सुरुङ मार्गको स्थलगत अवलोकन गर्दै उनीहरुको स्वागत गरेका हुन् । यसै आर्थिक वर्षभित्र उक्त पुराना सुरुङमार्गलाई सञ्चालन गर्न सम्भाव्यता प्राविधिक सर्वेक्षण भइरहेको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।