हेटौंडा/हेटौंडामा जारी विजय युथ हेटौंडा गोेल्डकप फुटबल प्रतियोगिता–२०७७ को सेमिफाइनल समीकरण पूरा भएको छ ।हेटौंडा–४ स्थित वनविज्ञान खेल मैदानमा सोमबार भएको खेलमा बागमती युवा क्लब सर्लाहीले दुधौली स्पोर्टस् क्लव सिन्धुलीलाई २–० गोल अन्तरले पराजित गरेर अन्तिम चारमा स्थान बनाएको छ ।
फाइनलन प्रवेशका लागि सर्लाहीले आयोजक विजय युथ क्लब हेटौंडा र सेन्ट्रल कलेज बीएफसी भरतपुर र हर्दी युवा समाज राप्तीसँग प्रतिस्पर्धा गर्नेछन् । सर्लाहीको जीतमा विदेशी खेलाडी फोफोना फोडे र विमल घिसिङले गोल गरेका थिए ।
खेलको २४ औं मिनेटमा विदेशी खेलाडी फोफोनाको गोलबाट बागमतीले अग्रता लिएको थियो । सर्लाहीका लागि ३४ औं मिनेटमा विमलले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । सर्लाहीले खेलमा पाएको एउटा पेनाल्टीलाई सदुपयोग गर्न सकेन । निरकुमार राईको प्रहारलाई दुधौलीका गोलरक्षकले रोकेका थिए । सर्लाहीका विदेशी खेलाडी फोफोना खेलको म्यान अफ दी म्याच भए ।
खेलमा अधिकांश समय बल सर्लाहीले आफ्नो पकड जमाएको थियो । अनुभवी खेलाडीको बाहुल्य रहेका कारण सिन्धुलीले खेलमा सर्लाहीसँग डिफेन्सिभ खेल खेलेको थियो । २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दश टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद तीन लाख, उपविजेताले एकलाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।