हेटौंडा/हेटौंडा उपमहानगरपालिका प्रमुख (मेयर) हरिबहादुर महतका छोरामाथि नेकपा प्रचण्ड–माधव समूहका कार्यकर्ताले कुटपिट गरेका छन् ।
आमहड्ताल आव्हान गरेको प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले बन्दका बेला सवारी साधन चलाएको भन्दै मेयर महतका छोरा रुपक महतमाथि कुटपिट गरेका हुन् । बन्दकर्ताले हेटौंडा–१० मेनरोड स्थित मेयरका छोरा रुपकले जबरजस्ती मोटरसाइकल चलाएको भन्दै विवाद भएपछि उनीमाथि कुटपिटसँगै मोटरसाइकल तोडफोड गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मेयरका छोरा घाइते भएको र बन्दकर्ताले उनीसँगै अर्का एक जनामाथि पनि कुटपिट गरेका छन् । उनीहरुलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ । मेयर महत तत्कालीन एमालेबाट निर्वाचित भएका हुन् भने हाल उनी ओली समूहमा छन् । नेकपा फुटपछि तटस्थ रहेका महत एक साताअघि हेटौंडा–५ मा आयोजित ओली समूहको कार्यक्रममा सहभागी भएसँगै उनी ओली समूहमा लागेको प्रष्ट भएको थियो ।