हेटौंडा/हेटौंडामा जारी ‘भेडोल विजय युथ हेटौंडा गोल्डकप–२०७७’को पहिलो संस्करण आयोजक एफसी विजय युथले जितेको छ ।
हेटौंडा–१० स्थित वनविज्ञान अध्ययन संस्थानको खेल मैदानमा भएको फाइनल खेलमा सेन्ट्रल कलेज भरतपुरलाई २–१ गोल अन्तरले पराजित गर्दै विजय युथले उपाधि उचालेको हो ।
तीन विदेशी खेलाडी मैदान उतारेको विजय युथले पहिलो हाफमा गोल गर्ने आधा दर्जन अबसरलाई सदुपयोग गर्न सकेन् । खेलको ५७ औं मिनेटमा भरतपुरका रञ्जित आले मगरले गोल गर्दै टिमलाई अग्रता दिलाएपछि घरेलु मैदानमा विजय युथलाई दबाब बढेको थियो ।
रञ्जितले विजय युथका गोलरक्षक अशोक बराल अगाडि बढेको मौकामा बललाई जाली चुमाए । भरतपुरले गोल गरेको ३ मिनेटमै विजय युथ खेल बराबरीमा ल्याउन सफल भयो । शान्त गुरुङले ६० औं मिनेटमा हेडिङ गोल गरे । भरतपुरका खेलाडीले डिबक्सभित्र विपक्षी खेलाडीलाई फाउल गरेपछि विजय युथले गोल अग्रता दोब्बर बनाउने मौका पायो । खेलको ६६ औं मिनेटमा रुपेश केसीले पेनाल्टी बललाई चुकाएनन् ।
खेलको १० औं मिनेटमै विजय युथका बिमल राना मगरको प्रहार क्रसबारमा लागेर आकाशियो । भरतपुरका गोलरक्षक मनोज गुरुङले रञ्जन विष्टको हेडिङ बललाई उत्कृष्ट बचाउ गरेका थिए । विजय युथले सेमिफाइनलमा बागमती युवा क्लब, सर्लाहीलाई ५–१ गोलको
फराकिलो अन्तरले पराजित गर्दै उपाधि होडमा उभिएको थियो । भरतरपुरले हर्दि युवा समाज, राप्तीलाई १–० गोल निरीह बनाउँदै फाइनल यात्रा तय गरेको थियो ।
गोल्डकप विजेता विजय युथले ३ लाख नगद हात पारेको छ । उपविजेता बनेको भरतपुरले १ लाख ५० हजार रुपैयाूमा चित्त बुझायो । गोल्डकपमा सर्बोत्कृष्ट खेलाडी विजय युथका रुपेश केसी घोषित भए । उनले १५ हजार रुपैयाू पाए । विद्यागत उत्कृष्ट खेलाडीको पुरस्कार सबै अयोजक विजय युथका खेलाडीले पाएका छन् । उत्कृष्ट गोलरक्षक अशोक बराल, उत्कृष्ट डिफेन्डर सुरज विष्ट, उत्कृष्ट मिडफिल्डर विश्व अधिकारी, उत्कृष्ट फर्वाड बिलम राना मगर चुनिए ।
उत्कृष्ट प्रशिक्षक सुबिन घिमिरे हुँदा सर्वाधिक गोलकर्ता भरतपुरका जोनस ग्लोरी भएका छन् । गोल्डकपमा मोफसलका उत्कृष्ट १० वटा टिमले सहभागिता जनाएका थिए । गोल्डकपको समापन कार्यक्रम बागमती प्रदेशका सांसद प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यता तथा प्रतियोगिताका संयोजक राजेश भेटवालको अध्यक्षतामा भएको छ ।
कार्यक्रममा हेटौंडा–१ का वडाध्यक्ष सबिन न्यौपाने, बागमती प्रदेश खेलुकद् परिषद्का सदस्यसचिव सुर्यलाल भण्डारी, जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामा, गढी भ्यू रिसोर्टका सञ्चालक रवि श्रेष्ठलगायतको आतिथ्यता थियो ।