हेटौंडा÷बागमती प्रदेशका १३ जिल्लामा पहिलो चरणको कोरोना खोप ७३ दशमलव ६५ प्रतिशत अर्थात ५५ हजार ८ सय ७८ जनाले लगाइसकेको अवस्थामा प्रभावकारी रहेको स्वास्थ्य निर्देशनालयले दाबी गरेको छ ।
शुक्रबार हेटौंडामा आयोजित पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा ४९ वटा खोप केन्द्रबाट लगाइएको कोभिसिल्ड नामक खोप प्रभावकारी देखिएको निर्देशनालयले दाबी गरेको हो । हालसम्म खोप लगाएका २ जनामा गम्भीर स्वास्थ्य समस्या देखिएको छ ।
तर, उपचार पश्चात् उनीहरुको अवस्था अहिले सामान्य रहेको छ । ३ सय ३४ जनामा भने खोपले सामान्य असर देखाएको छ । उनीहरुमा टाउको दुख्ने, ज्वरो आउने, खोप लगाएको ठाउँमा दुख्ने जस्ता समस्या देखिएको निर्देशनालयले जनाएको छ ।
पहिलो चरणमा स्वास्थ्यकर्मी, सहयोगी, सफाइकर्मी, विमानस्थलमा कार्यरत कर्मचारी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा क्रियाशील व्यक्तिहरु, ज्येष्ठ नागरिक लगायतलाई खोप लगाइएको निर्देशक रमेशप्रसाद अधिकारलिे बताए । कार्यक्रममा निर्देशनालयले गत आर्थिक वर्षमा सञ्चालन गरेका कामहरुको सम्बन्धमा पनि जानकारी गराइएको थियो । नागरिकको आकर्षण वैकल्पीक चिकित्सा तथा आयुर्वेदमा बढ्दै गएकाले सबै स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिने निर्देशक अधिकारीले जानकारी दिए । गत आर्थिक वर्षमा मात्रै ४२ वटा नयाँ नागरिक आरोग्य सेवा केन्द्रहरु स्थापना गरिएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।
निर्देशक अधिकारीले गाउँघर क्लिनिकले गाउँ स्तरबाट स्वास्थ्य सेवा प्रदान भइहेकाले दुर्गम क्षेत्रसँग दुरी कम गरिरहेको बताए । गाउँस्तरमा महिला समूहमार्फत महिना १ पटक स्वास्थ्य सम्बन्धी छलफल गरेर पनि जनचेतना बढाउने काम भइरहेको उनले जानकारी दिए । उनले मन्त्रालयमार्फत मेरो स्वास्थ्य मेरो जिम्मेवारी कार्यक्रम संचालन भइरहेकाले स्वस्थ हुन स्वस्थ व्यवहार लागू गर्नेपर्ने बताए ।
कार्यक्रममा निर्देशनालयका शाखा प्रमुख शम्भु काफ्ले निर्देशनालयले गरेका कामहरुको बारेमा प्रकाश पारे । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप बिष्ट, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागार्इं, निर्देशनालयका सूचना अधिकारी बसन्त चालिसेलगायतको आतिथ्यता रहेको थियो ।