कुनैबेला देशभरी नै सुन्दर नगर भनेर नाम कमाएको, सबैले शान्त र हरियाली शहरको रुपमा चिनेको हाम्रो हेटौंडाको पहिचान फेरि“दै गएको छ । केही वर्ष अघिसम्म सफा, स्वच्छ, हराभरा हेटौंडा शहर दिनप्रतिदिन कुरुप बन्दै गएको छ । आसपासका गाविससमेत मिलाएर हेटौंडा उपमहानगरपालिका बनाएपछि हेटौंडाको पहिचान पनि फेरिँदै जान थालेको हो । मुख्य बजार क्षेत्रमै अव्यवस्थित र झुपडी घरहरु, जथाभावी खाल्डा भएका सडक, साना तथा ठूला सवारी साधनको भीड, अस्तव्यस्त फुटपाथ, अव्यवस्थित पार्किङलगायतले हेटौंडाको सुन्दरता हराउ“दै गएको महसुस हुन्छ ।
विशेषगरी हेटौंडाको मुख्य बजार क्षेत्रका कान्तिराजपथ, स्कूलरोड, मेनरोड, राप्तीरोड, पारिजातपथ, हरिकुञ्जरोड, नगरपालिकारोड, अजरअमरसोड, टीसीएनरोड, बाइपासरोडको ट्राफिक व्यवस्था र अन्य अवस्था बिग्रिएको छ । पछिल्लो समय मर्मत तथा विस्तारको क्रममा रहेको हरिकुञ्जरोड र पुरानो मकवानपुररोडको अवस्था अझै राम्रो भएको छैन । अति तीब्र गतिमा बढ्दै गएको शहरीकरण र जनसंख्याको चाप थेग्न हेटौंडा बजारको भौतिक संरचनालाई गाह्रो भएको छ । विगत एक दशकको अवधिमा हेटौंडा बजारमा जनसंख्या कयौं गुना वृद्धि भएको छ भने सवारी साधनको वृद्धिदर त अप्रत्याशित भएको छ । जनसंख्या र सवारी साधनको संख्या जति बढे पनि सडकको लम्बाई बढ्न सकेको छैन । केही शाखा सडकको सामान्य चौडाई वृद्धि गरी स्तरोन्नति भइरहेको भए पनि पर्याप्त देखिँदैन । विशेषगरी मुख्य बजार क्षेत्र भएर जाने त्रिभुवन राजपथ, महेन्द्र राजमार्ग र कान्ति लोकपथलाई मापदण्डअनुसार चौडा बनाउन नसक्दा पनि हेटौंडा बजारमा सवारी चाप निकै बढी देखिएको हो । विगतमा हेटौंडा नगरपालिका, ट्राफिक प्रहरी, उद्योग वाणिज्य संघ, सडक विभाग, प्रशासनिक निकाय तथा अन्य सरोकारवालाको बेवास्ता तथा अदूरदर्शिताको शिकार अहिले हेटौंडाबासी हुनु परेको छ । विगतमा मकवानपुर जिल्लाको सदरमुकाममा मात्र सिमित रहेको हेटौंडा अहिले प्रदेश राजधानी बन्दासमेत जस्ताको त्यस्तै रहनुले हेटौंडाको बिग्र“दै गएको अवस्थाप्रति कोही संवेदनशील नभएको देखिन्छ । व्यवस्थित बजारले नै सुरक्षा तथा व्यावसायिक क्रियाकलाप वृद्धि गर्दछ । हेटौंडाको बजार क्षेत्रलाई व्यवस्थित बनाउन यहा“को ट्राफिक व्यवस्थापन, फुटपाथ अतिक्रमण नियन्त्रण, बाटोको चौडाई वृद्धि र स्तरीकरण, पार्किङ व्यवस्थापनजस्ता कार्यमा विशेष र प्रभावकारी कदम चाल्नु अपरिहार्य भइसकेको छ । विगतमा ग्रेटर हेटौंडाको सपनालाई राज्य पुनर्संरचनाबाट प्राप्त भइसकेको अवस्थामा उक्त सपना साकार पार्न समयमै दीर्घकालीन सोच राखेर सम्बन्धित निकायले हेटौंडा शहर व्यवस्थित गर्नैपर्छ । अनिमात्र हेटौंडाको मौलिक पहिचान जोगाउन सकिन्छ ।