हेटौंडा/डिभिजन वन कार्यालय मकवानपुरले वन क्षेत्र आगटेर विद्यालय निर्माण गरिएको भन्दै भत्काएको मकवानपुरको पूर्वी क्षेत्र बकैयाको विद्यालय २५ दिनपछि सञ्चालनमा आएको छ ।
बकैया गाउँपालिका–१ स्थित ढिकीफेदीमा रहेको वनदेवी कालिका आधारभूत विद्यालय वन कार्यालयले भत्काएको थियो । वनले २५ पुसमा शनिवारको दिन विद्यालयको टहरा र निर्माणधिन नयाँ भवनको जगसमेत भत्काएको थियो । बकैया गाउँपालिका कार्यालयले वन कार्यालयले विद्यार्थीको बिचल्ली हुने गरी भत्काएको भन्दै आपत्ति जनाएको थियो । विद्यालयमा १ सय ७ जना विद्यार्थी पढ्दै आएका थिए ।
आइतबारदेखि सञ्चालनमा आएको विद्यालयमा २२ जना विद्यार्थी पढ्न आएको विद्यालयका प्रअ सरलोकुमार कछडियाले बताए । वन अधिकृत इमनाथ पौडेलको निर्देशनमा ढिकीफेदीकै छिमेकी गाउँका स्थानीय आएर विद्यालय भत्काएको आरोप विद्यालयले लगाएको छ । वनले विद्यालय भत्काएको दोस्रो साता मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको अध्यक्षतामा जिल्ला समन्वय समिति, वन कार्यालय, शिक्षा समिति ईकाई र बकैया गाउँपालिकाबीच बैठक बसेको थियो ।
बैठकले गाउँपालिकालाई माघ १५ गतेसम्म दुई गाउँ रजुवा र ढिकीफेदी बीच सहमति गराउन आग्रह गरिएको थियो । गाउँ– पालिकाले दुई गाउँलाई सहमतिमा ल्याएपछि र भत्काइएको टहरा पुनः निमार्णपछि विद्यालय सुचारु गर्न सकिएको गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले जानकारी दिइन् । ‘१ नम्बर वडाको ढिकीफेदी र रजुवा गाउँका स्थानीयबीच मौखिक सहमति भएको छ । विद्यालयको नयाँ भवन निर्माण कार्यलाई फागुन पहिलो हप्तादेखि तीव्र गतिमा अघि बढाउँछौं ।’, बोलखेले भनिन् ।