हेटौंडा/मनहरी गाउँ– पालिकामा निमार्णधिन मदन भण्डारी स्मृति क्षेत्रीय रंगशालाका लागि संघीय सरकारले ३० लाख रुपैयाँ बिनियोजन गरेको छ ।
जिल्लाका १० स्थानीय तहमध्ये पहिलो पटक ३० हजार दर्शक क्षमताको रंगशाला निर्माण गर्ने मनहरी गाउँपालिकाको योजनालाई संघीय र प्रदेश सरकारले सहयोग गरेका छन् । कुल ५६ करोड लागत अनुमान रहेको मनहरी–७, रमौलीमा निर्माण भइरहेको रंगशालामा प्रदेश सरकारे ४० लाख रुपैयाँ बजेटमा कम्पाउण्ड वाल निर्माण जारी छ । ३० विगहा क्षेत्रफलमा बन्ने रंगशाला निर्माण गर्नका लागि ५६ करोड रुपैयाँ लागत रहेको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए ।
युवा तथा खेलकुद मन्त्रालयले केही दिनअघि ३० लाख रुपैयाँ बिनियोजन गरेको खेलकुद विकास समिति मनहरीका अध्यक्ष नवीन सुवेदीले जानकारी दिए ।
राष्ट्रियसभा सदस्य रामचन्द्र राई, गाउँपालिका अध्यक्ष उप्रेतीको पहलमा रंगशालालाई ३० लाख बजेट उपलब्ध भएको सुवेदीले बताए । गाउँपालिकाले चालू आर्थिक वर्ष २०७७÷०७८ मा ७० लाख रुपैयाँ बजेटमा निर्माण सुरु गरेको हो ।
‘रंगशाला बहुवर्षीय योजनामा निर्माण हुनेछ । हामीले चालू आवदेखि निर्माण सुरु गरेका छौं । ५ वर्षभित्र रंगशाला निर्माणलाई पुर्णता दिइसक्ने छौं ।’ समिति अध्यक्ष सुवेदीले भने । कम्पाउण्ड निर्माणको गाउँपालिका अध्यक्ष उप्रेतीले अनुगमन पनि गरेका छन् । उनले निर्माण कम्पनीलाई गुणस्तरीय काम गर्न निर्देशन दिए । ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गर्न र खेलाडीलाई दैनिक प्रशिक्षणका लागि व्यवस्थित स्थानका रुपमा रंगशाला निर्माण गर्न लागेका हौं ।’, अध्यक्ष उप्रेतीले भने ।
रंगशाला निर्माणलाई गौरवको योजनाका रुपमा राखेर बजेट बिनियोजन गरिएको उप्रेतीले बताए । फुटबल, क्रिकेट, भलिवल लगायतका खेलकुद प्रतियोगिता आयोजना गर्ने गरी बहुउपयोगी रंगशाला निर्माण गर्न लागिएको हो । रंगशाला निर्माणलाई प्रदेश सरकारले पनि प्राथमिकतामा राखेको छ ।
‘प्रदेश र संघीय सरकारको सहयोगमा हेटौंडा–६ मा निर्माणाधिन गौरिटार रंगशालाको विकल्पको रुपमा हामीले रंगशाला निर्माण गर्न लागेका हौं । हामी गौरवको आयोजनाको रुपमा बहुवर्षे ठेक्का प्रणालीअन्तर्गत् रंगशाला निर्माण गर्नेछौं ।’, गाउ“पालिका अध्यक्ष उप्रेतीले भने ।