हेटौंडा/बागमती प्रदेशको सशस्त्र प्रहरी गण मुख्यालय हेटौंडा–१५, रातोमाटेमा उद्घाटन गरिएको छ ।
सशस्त्र प्रहरी गण मुख्यालय रातोमाटेको हाताभित्र नवनिर्मित भवनको बुधवार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका छन् । प्रदेश सरकारको ४ करोड ३९ लाख २२ हजार ७ सय ११ रुपैयाँ लागतमा सशस्त्र प्रहरीको तीन तला भवन निर्माण गरिएको हो । ३ जेठ २०७५ मा ठेक्का सम्झौता गरी १६ कोठे सशस्त्र प्रहरी भवन निर्माण भएको जनाइएको छ । सशस्त्र प्रहरीले सुविधासम्पन्न भवन नुहँदा समस्यामा गुर्जिएर सेवा
दिइरहेको भन्दै प्रशंसा गरे ।
सामान्य छाप्रोमा बसेर सेवा प्रदान गर्दै आएका प्रहरीहरुलाई भवनमा राख्नुपर्छ भन्ने उद्देश्यले भवन निर्माण गरिएको पौडेलको भनाइ छ । उनले प्रदेशभरका जिल्लाहरुमा भाडामा बस्दै आएका र छाप्रोमा दैनिकी बिताउँदै जनताको सेवामा समर्पित हुने प्रहरी कार्यालयलाई सुविधासम्पन्न भवनमा राख्ने गरी प्रदेश सरकारले काम गरिरहेको मुख्यमन्त्री पौडेलले बताए । उनले प्रदेश सरकारले यसवर्ष १२ वटा सम्म सवारीसाधन प्रहरीहरुलाई उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिए ।
प्रदेश सरकारले गत आर्थिक वर्ष २०७६÷०७७ मा उपत्यका बाहेक १० जिल्लामा ४६ वटा प्रहरी भवन निर्माणको थालनी गरेको थियो । जसमध्ये हालसम्म १७ वटा प्रहरी कार्यालयका भवनहरु बनिसकेको मुख्यमन्त्री पौडेलको सचिवालयले जानकारी दिएको छ । चालु आर्थिक वर्षमा बाँकी रहेका सबै प्रहरी बनिसक्ने सचिवालयले जनाएको छ । सरकारले प्रदेशका नाकाहरुमा एकीकृत सुरक्षा पोष्ट निर्माणको काम पनि अगाडि बढाएको बताइएको छ । प्रहरीका भौतिक संरचना निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको मुख्यमन्त्री पौडेल बताउँछन् ।
भवन उद्घाटन कार्यक्रममा बागमती प्रदेशका प्रमुख सचिव मानबहादुर विके, आन्तरिक मामिला तथा कानुन मन्त्रलयका सचिव मदन भुजेल, मध्यपृतना मुख्यालयका उपरथी अशोककुमार सिग्देल, बागमती प्रदेश प्रहरी प्रमुख डिआइजी बसन्तकुमार लामा, राष्ट्रिय अनुसन्धान बागमती प्रदेशका निर्देशक सुमन वैद्य, मकवानपुर प्रहरी प्रमुख सोमेन्द्र सिंह राठौर, सशस्त्र प्रहरी १४ नम्बर गण हेटौंडाका प्रहरी उपरीक्षक निरकृष्ण अधिकारी, रातोमाटे गणका प्रमुख प्रहरी उपरीक्षक केदार खनाल लगायतको आतिथ्यता थियो ।