हेटौंडा/जिल्लाको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिका देशमै दोस्रो बालमैत्री गाउँपालिका घोषणा भएको छ ।
बकैया २९ माघदेखि बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने गाउँपालिका बनेको हो । देशमै पहिलो बालमैत्री गाउँपालिका पनि मकवानपुरको मनहरी भएको थियो । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बिहीवार साविकको छतिवन जुरेलीमा आयोजित घोषणासभा बकैयाँलाई बालमैत्री गाउँपालिका घोषित गरेका हुन् । घोषणा पत्रमा पौडेलले हस्ताक्षर गरेका छन् । उनले देशभरका गाउँपालिकाहरु मध्ये दोस्रो भएकोमा बकैया गाउँपालिकालाई बधाई ज्ञापन गरेका छन् ।
बालमैत्री घोषणालाई घोषणामा मात्रै सिमित राख्न नहुने पौडेलको भनाई । उनले बागमती प्रदेशपनि बालमैत्री गाउँपालिका घोषणाका लागि अग्रसर भइरहेको बताए । बागमती प्रदेशका प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बकैया बालमैत्री गाउँपालिका घोषणा हुनुमात्रै सफल भएको ठान्न नहुने र बाल– मैत्रीका क्षेत्रमा निरन्तर काम गर्नुपर्ने बताएका छन् । उनले बालविवाह, बालश्रम न्यूनिकरणमा बढी ध्यान दिन गाउँपालिकालाई आग्रह गरे ।
बालमैत्री अभियान सञ्चालन गरेको करिब ३ बर्षपछि यसले सार्थकता पाएको हो । बालमैत्री घोषणाका लागि आधारभूत रुपमा बालश्रम र बाल विवाहमुक्त क्षेत्र बनाइएको छ । बालविवाह रोक्ने, बालश्रम न्यूनीकरण गर्ने कामलाई निरन्तरता दिइएको थियो । गाउँ– पालिकाले ३० असार २०७४ को गाउँसभाबाट बालमैत्री स्थानीय शासन अवलम्वन तथा २०७४ पुस १७ गते बालमैत्री स्थानीय शासन बनाउने प्रतिवद्धता जनाएको थियो ।
गत पुषभित्रै गाउँपालिका– लाई बालमैत्री घोषणा गर्ने भनिएपनि कोरोना महामारीका कारण एक महिना ढिला सरको गाउँपालिकाले जनाएको छ । बकैयाले गाउँपालिकालाई बालमैत्री घोषणा गर्न आर्थिक वर्ष ०७६÷०७७ मा ५० लाख र र चालू आर्थिक वर्ष ०७७÷०७८ मा ८० लाख रुपैयाँ विनियोजन गरेर काम गरेको जनाएको छ । गाउँपालिकाको १२ वटै वडामा बालमैत्री सहजकर्ता राखेर वडा तहमा बालमैत्री स्थानिय शासनसम्बन्धि काम सुरु गरिएको थियो ।
गाउँपालिकास्तरीय संजाल गठन गरेर बाल विवाह, बाल श्रम, घरेलु हिंसा, लैंगिक हिंसा, मानव बेचबिखन न्यूनिकरणका लागि, टोल विकास संस्था, महिला सहकारी र विद्यालयमा नियमित रुपमा सचेतना मुलक कार्यक्रमहरु गर्दै आएको गाउँपालिकाले जनाएको छ । गत कार्तिकमा गरिएको सर्वेक्षण अनुसार बालमैत्री स्थानीय शासन अवलम्बनका लागि कूल ३९ वटा सूचकमध्ये १९ वटा सूचक पूर्ण रुपमा पुरा गरिएको र बाँकी २० वटा सूचक ९८ प्रतिशतसम्म पुरा गरिएको जिल्ला समन्वय समिति मकवानपुरले जनाएको छ ।
मुख्यमन्त्री पौडेलको प्रमुख आतिथ्यता तथा बकैया गाउँ पालिका अध्यक्ष दामोदर खनालको सभाध्यक्षतामा भएको घोषणासभामा प्रदेशसभा सदस्यहरु जुनेलि श्रेष्ठ, सन्तबहादुर चेपाङ, जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखे, बागमती गाउँपालिकाकी उपाध्यक्ष धनमाया स्याङतानलगायतको उपस्थिति रहेको थियो ।