नेपाल सरकारले लामो समयदेखि रोजगारीको वृद्धि गर्नका लागि जलविद्युत र पर्यटन क्षेत्रमा वर्षेनी लगानी बढाइरहेको छ । त्यसैको सिको गर्दै स्थापनाको भर्खरैमात्र तेस्रो वर्ष प्रवेश गरेको बागमती प्रदेश सरकारले पर्यटनको माध्यमबाट समृद्धि खोज्नेभन्दै यसक्षेत्रमा बर्षेनी लगानी बढाउँदै लगेको छ । फलस्वरुप केही नतिजाहरु देखिन थालेका छन् । पर्यटन प्रबद्र्धनसँगै पर्यटकीय क्षेत्रको विकासका लागि उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले लगानीसँगै नयाँ योजनालाई प्राथमिकताका साथ अघि बढाएको छ । बागमती सरकारले पर्यटन क्षेत्र मात्र होइन, औद्योगिक विकासमा टेवा पु¥याउन ‘एक निर्वाचन क्षेत्र, एक उद्योग ग्राम’ कार्यक्रम अन्तर्गत पाँच स्थानमा औद्योगिक क्षेत्र निर्माणको काम थालनी गरेको छ । त्यस्तै १० स्थानको वातावरणीय अध्ययन सम्पन्न भएको जनाइएको छ । सिन्धुलीको हरिहरपुरगढीमा तीन हजार ६ सय रोपनी क्षेत्रफलको प्रदेश औद्योगिक क्षेत्रको निर्माण कार्य थालनी भएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ‘उद्यमीको हात, प्रदेश सरकारको साथ’ भन्ने नाराका साथ बेरोजगार युवा तथा विदेशबाट फर्किएका जनशक्तिलाई लक्षित गरी उत्पादन बृद्धिका लागि रोजगारी सिर्जना र प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत एक हजार २९ वटा प्रविधि हस्तान्तरण गरिएको छ । त्यस्तै, मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार प्रदेश सरकारले ४५ वटा महत्वपूर्ण पदमार्ग निर्माण गरेको छ । प्रदेशभरी झण्डै ४३ किलोमिटर गुणस्तरीय तथा पर्यटनमैत्री पदमार्ग निर्माण गरेको मन्त्रालयको दाबी छ । ‘एक जिल्ला एक नमूना पर्यटन गन्तव्य’ कार्यक्रम अन्तर्गत विभिन्न स्थानलाई पर्यटन गन्तव्य घोषणा गरिएको छ । जसअन्तर्गत सिन्धु– पाल्चोकको मुडे, मकवानपुरको चित्लाङ, इन्द्रसरोवर, ककनी नुवाकोट, जिरी दोलखा, शिवालय रामेछाप, रुवीभ्याली धादिङ, सोम्दाङ रसुवा, कालेश्वर ललितपुर, सुराइचुली चितवन, सिन्धुलीगढी सिन्धुलीलाई घोषणा गरिएको छ । राष्ट्रिय वाणिज्य बैकसँगको सहकार्यमा नवयुवालाई लक्षित गरी निःशुल्क तालिम, व्यवसायिक योजना, सहुलियत पूर्ण कर्जाका लागि सम्झौता गरी ‘स्मार्ट अप आइडिया कल’ कार्यक्रम सञ्चालन गरिएको छ ।
नेपालले विकासे फड्को मार्नका लागि कृषि, पर्यटन र जलविद्युत क्षेत्रमा लगानी बढाउनुको विकल्प छैन । त्यसकारण वर्षेनी देशमा पर्यटन व्यवसायलाई बढाउनका लागि यसक्षेत्रमा लगानी बढाउनु जरुरी रहेको छ। कोरोना भाइरसका कारण लथालिड्ड अवस्थामा पुगेको आर्थिक क्षेत्रलाई उकास्न समेत पर्यटन क्षेत्रको भूूमिका अहम् हुन्छ । सोही कारणले गर्दा हामीले पर्यटन क्षेत्रमा आवश्यक भौतिक पूर्वाधार निर्माण गर्दै सोही अनुुसारको लगानी वर्षेनी पर्यटन क्षेत्रमा थप्दै जानुु आजको आवश्यकता हो ।