हेटौंडा/नेपाली कांग्रेस मकवानपुरले हेटौंडामा सोमबार विरोध प्रर्दशन गरेको छ । पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीको चालेको संसद विघटनको कदमविरुद्ध कांग्रेस मकवानपुरले विरोध प्रर्दशन गरेको हो । जिल्ला पार्टी कार्यालय कांग्रेस चोकबाट सुरु भएको ¥याली मानस चोक, लोकप्रिय चोक, मेनरोडहुँदै मकवानपुर उद्योग बाणिज्य संघ चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रममा सहभागीहरुले केपी ओली मुर्दावाद, संसद विघटन खारेज गर, भ्रष्टाचार र महंगी अन्त्य गर लगायतका नारा लगाएका थिए । कार्यक्रममा खैजडी भजन समूहले भजनमार्फत ओली सरकारको विरोध गरेको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, नेपाली कांग्रेस मकवानपुरका पार्टी सल्लाहकारहरु, जिल्ला सदस्यहरु, भातृ एवं शुभेच्छुक संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेता बानियाँले सरकारको असंवैधानिकको कदमविरुद्ध आम जनसमुदायले खुलेर बिरोध गर्नुपर्ने बताए । उनले कम्युनिस्टको सरकारले देश र जनताको हितमा काम गर्न नसक्ने दाबी गर्दै अब कांग्रेसलाई जनताले विश्वास गर्ने बताए ।
‘हरेक जनताले कम्युनिस्टलाई बुझेका छन् ।’ उनले भने ‘अब कांग्रेसले मात्र देशलाई सहि दिशामा संचालन गर्ने र विकासलाई तीब्रता दिन सक्नेछ ।’ उनले हरेक स्तरबाट सरकारको कदमविरुद्ध जागरुक भएर लाग्न आग्रह गरे ।