हेटौंडा/मेची महाकाली बुहारी संयुक्त आवाज मकवानपुरले बैतडीकी भागिरथी भट्टको हत्यारा– लाई कडा सजायको माग गरेको छ ।
हेटौंडामा विरोध प्रद्धर्शन गर्दै बुहारी आवाजले भागिरथीको हत्याका दोषीलाई कडा कारबाहीको माग गरेको हो । विरोध ¥यालीसहित हेटौंडा बजारका मुख्य चोकमा नारावजी गरेको बुहारी आवाजले ‘हत्यारालाई कारबाही गर’, ‘कडाभन्दा कडा सजाय दे’, बलात्कारीलाई फाँसी दे’, ‘महिला हिंसा बन्द गर’लगायतका नारा लगाएका थिए ।
बुद्धचोकबाट निकालिएको ¥याली कान्तिराजपथ हुँदै संगमचोक–मानसचोक–लोकप्रियचोकबाट मकवानपुर उद्योग बाणिज्य संघहुँदै बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा माईती नेपाल, नारी संरक्षण केन्द्र, सत्यम् जेभियर्स माबि, भुटनदेवी उच्च माबि, सिद्धार्थ माबि, बालजागृति इङ्लिस बोर्डङ स्कुल, जनज्योति माबि लगायत संघसंस्थाको सहभागिता थियो । कार्यक्रममा मेची महाकाली बुहारी संयुक्त आवाजकी बागमति प्रदेश संयोजक बिनिता अधिकारी, हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना लामा, मेची महाकाली बुहारी संयुक्त आवाजकी प्रदेश २ संयोजक पुजा पाठक तिमल्सिना, केन्द्रीय सल्लाहकार सूर्यहरी मरहाको विशेष आतिथ्य थियो ।