हेटौंडा/बुधबारका लागि बोलाइएको बागमती प्रदेशसभा बैठक स्थागित गरेपछि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र विपक्षी दल विवेकशील साझा पार्टीले गम्भीर ध्यानाकर्षण गराएको छ ।
बुधबार साँझ कांग्रेस बागमती प्रदेश संसदीय दलका सचिव निमा लामाद्वारा जारी विज्ञप्तिमा बैठक स्थगित गरेकोप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा बागमती प्रदेशको फागुन ५ गते बस्ने तय भएको प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित गरिएकोमा कांग्रेस संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको भनिएकोछ ।
मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने नेकपा प्रचण्ड–नेपाल पक्ष, प्रमुख प्रतिपक्ष दल कांग्रेस र सत्तापक्षसँग मंगलबार प्रदेशसभा सचिवालयमा भएको छलफलमा बैठक संचालन गर्ने सहमति भएपनि सूचना टाँसेर ‘विशेष कारण’ भन्दै स्थगित गरेकोमा कांग्रेसले असहमति जनाएको हो ।
विज्ञप्तीमा भनिएको छ ‘संसदीय अभ्यासको मर्म र भावना विपरित अचानक भएको यस्तो कार्य पटकपटक दोहोरिँदा सभामुखको गरिमा र मर्यादा घट्ने र प्रदेशसभाको भूमिका कमजोर देखिनेतर्फ गम्भिर हुनु जरुरी छ ।’ कांग्रेस संसदमा टेबुल भएको अविश्वासको प्रस्ताव माथिको छलफल अघि बढाउनुपर्ने पक्षमा रहेको संसदीय दलका सचिव लामाले बताए ।
यसैगरी विवेकशील साझा पार्टी प्रदेशसभा संसदीय दलका नेता रमेश पौड्यालद्वारा जारी विज्ञप्तिमा अनायास ढंगले सूचना टाँस गरी अनिश्चितकालका लागि स्थगित गरिएकोमा पार्टीको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ।
विवेकशील साझाले २०७७ माघ ७ मा बागमती प्रदेश सभाको सातौँ अधिवेशन सुरु भएयता करिब एक महिनामा जम्मा दुइ पटक मात्र बैठक बसेको जनाएको छ । लगातार बैठक स्थगित गर्दा प्रदेश सभामार्फत नागरिकका आवाज मुखरित गर्ने अवसर प्रदेशसभा सदस्यहरुले नपाएको विज्ञप्तिमा उल्लेख छ।
‘सत्तारुढ नेकपाभित्र देखिएको विवादको चपेटामा परेर प्रदेश सभाले आफ्नो बैठकसमेत सञ्चालन गर्न नसक्ने स्थिति उत्पन्न हुनुले आम जनमानसमा प्रदेश संरचना प्रति नै वितृष्णा पैदा गराएको छ ।’ विज्ञप्तिमा उल्लेख छ ।
विगतमा कार्यव्यवस्था परामर्श समितिको बैठक छलफलको आधारमा प्रदेशसभा सञ्चालन गर्ने र कार्यसूची तय गर्ने सम्बन्धी आवश्यक निर्णयहरु हुँदै आएकोमा हाल आएर सभामुखको हठात् निर्णयद्वारा पटकपटक बैठक स्थगित अस्वाभाविक भएको संसदीय दलका नेता पौड्यालले बताए ।