हेटौंडा/बागमती प्रदेश सरकारले तीन वर्ष बिताइसकेको छ । यो अवस्गामा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको योजना तीब्र गतिमा अघि बढेको जनाइएको छ ।
मन्त्रालयका अनुसार चार स्थानसहित सिन्धुलीको दूधौली नगरपालिका, चितवनको माडी नगरपालिका, सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती गाउँपालिका, नुवाकोटको लिखु र पञ्चकन्या गाउँपालिकामा गरी ७ सय ८९ कृषक घरधुरीले एक हजार ७ सय ४४ विगहा जग्गामा सामूहिक चक्लाबन्दी खेती गरिएको छ ।
यो खेतीसँगै आधुनिक एवं यान्त्रिकीकरणको माध्ययमबाट अन्नबाली, तरकारीबाली, माछापालन, फलफूलखेती गर्दै आइरहेको मन्त्रालयको दाबी छ ।
प्रदेशका २ सय ४७ वटा दुग्ध उत्पादक सहकारीमार्फत कृषककै खातामा जाने गरी करिब आठ
करोड ८८ लाख दूध उत्पादनमा अनुदान वितरण गरिएको मन्त्रालयले जनाएको छ । प्रत्येक जिल्लामा कम्तीमा एक–एक वटा एकीकृत कृषि पर्यटन कार्यक्रम अनुरुप प्रदेशका विभिन्न जिल्लामा कृषि पर्यटन प्रवद्र्धनको लागि कालिज फार्म, स्थानीय कुखुरा फार्म, टर्की फार्म, कडकनाथ र उँटेभेडा (अल्पका) फार्म स्थापना भइ सञ्चालनमा आएको छ ।
कृषि उत्पादनलाई उत्पादन स्थलदेखि बजारसम्म पु¥याउन पहुँच स्थापित गर्ने गरी कृषि सडक निर्माण गर्ने नीतिअनुरूप प्रदेशको १ सय ६७ स्थानमा करिब ५ सय ७२ किलोमिटर साना कृषि सडकको निर्माण तथा मर्मत भइ कृषि उपजको बजारीकरणमा सहयोग पुगेको छ ।
प्रदेशभरमा ३७ वटा चिलिङ सेन्टर स्थापना भएको छ । चिलिङ सेन्टर स्थापनाबाट दैनिक ७२ हजार लिटर दूध चिस्यान
भइ दूधको गुणस्तरमा वृद्धि भएको तथा उपभोक्ता समक्ष स्वास्थ्यकर दूध उपलब्ध भएको मन्त्रालयले जनाएको छ ।
कृषिमा आत्मानिर्भर हुन तथा निर्यातयोग्य कृषि उपजको उत्पादकत्व बृद्धि गर्न कृषि फार्म स्थापना र सञ्चालन गर्न निजी क्षेत्र तथा सहकारी संस्थालाई प्रोत्साहन गर्ने नीतिअनुरुप रेन्बो ट्राउटको रेशवे निर्माण, ह्याचरी, दाना उद्योग र स्टोर घर सञ्चालन भएको छ ।