हेटौंडा/त्रिपालले टाँगिएको छाप्रोमा बसेर सेवा प्रदान गर्दै आएका मकवानपुरको उत्तरी क्षेत्रस्थित सिमभञ्ज्याङका प्रहरी पक्की भवनमा बस्न पाएका छन् ।
थाहा नगरपालिका–४ मा रहेको सिमभञ्ज्याङ प्रहरी चौकी यसअघि छाप्रोबाट सञ्चालन भइरहेको थियो । वर्षातको समयमा पानी चुहिने छाप्रोमा बस्न बाध्य प्रहरीको समस्याका बारेमा समाचार आएपछि सरोकारवाला निकायले सिमभञ्ज्याङ प्रहरी चौकीलाई भवन निर्माण गर्न प्राथमिकतामा राखेको थियो ।
बागमती प्रदेश सरकार र थाहा नगरपालिकाको संयुक्त लगानीमा चार कोठे भवन निर्माण गरिएको हो । प्रदेश सरकारले ३ लाख रुपैयाँ प्रहरी भवन मर्मतका लागि बजेट दिएको थियो ।
थाहा नगरपालिकाले मर्मत शिर्षकको आएको बजेटमा थप गरेर प्रहरी चौकीका लागि भवन निर्माण गरेको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले जानकारी दिए । करिब साढे ८ लाख रुपैयाँमा भवन निर्माण गरिएको विष्टले बताए । प्रमुख लवशेर विष्टले जनताको सेवामा अहोरात्र खटिने प्रहरीलाई ओत लाग्ने भरपर्दो छाप्रो पनि नहुँदा भवन निर्माण गरिदिने अठोट लिएका थिए । विष्टको अठोटले नै प्रहरीले नयाँ भवन पाएका हुन् ।
नगर प्रमुख विष्टले जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सोमेन्द्र सिंह राठौरलाई नवनिर्मित भवन हस्तान्तरण
गरेका छन् । भवन हस्तान्तरण कार्यक्रमलाई संबोधन गर्दै विष्टले नागरिकको सेवामा खटिने प्रहरीलाई सबैले सहयोग गर्दा सुरक्षामा थप टेवा मिल्ने धारणा राखे । कार्यक्रममा मकवानपुरका प्रहरी प्रमुख राठौरले प्रहरीका लागि भवन निर्माण गरदिएकोमा धन्यवाद दिए । सिमभन्ज्याङ प्रहरी चौकी २०६४ सालमा स्थापना भएर सेवा दिइरहेको थियो ।कार्यक्रममा थाहा नगरपालिका–४ का वडाध्यक्ष दिपक सिं लामा, थाहा नगरपालिकाका
राजनीतिक सल्लाहकार विष्णु विष्ट (आदर्श), इलाका प्रहरी कार्यालय पालुङका प्रमुख प्रहरी निरीक्षक विकास तामाङ, थाहा नगर होटल एसोसिएसनका अध्यक्ष शिवकुमार खत्री, भवन निर्माण समिति अध्यक्ष जितबहादुर थोकरलगायतको आतिथ्यता थियो ।