हेटौंडा/हेटौंडामा फागुन अन्तिम सातादेखि स्थानीय तह शहीद स्मृति गोल्डकप हुने भएको छ । जिल्ला फुटबल संघको आयोजनामा २७ फागुनदेखि ७ चैतसम्म गोल्डकप हुन लागेको हो ।
मकवानपुरका १० वटै स्थानीय तहको आर्थिक सहयोगमा हुने गोल्डकपमा देशभरका चर्चित दशवटा क्लबको सहभागिता रहनेछ । हेटौंडा–१० स्थित वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा हुने गोल्डकपको विजेताले नगद दशलाख रुपैयाँ र उपविजेताले नगद पाँचलाख रुपैयाँ प्राप्त गर्ने आयोजक फुटबल संघ अध्यक्ष टिकाराम लामाले जानकारी दिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार रुपैयाँ, प्रतियोगितामा विधागतरुपमा उत्कृष्ट हुने गोलरक्षक, डिफेन्डर, मिडफिल्ड, फरवार्ड तथा प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ र प्रत्येक खेलको म्यान अफ दी म्याचलाई नगद पाँचहजार रुपैयाँ प्रदान गरिने लामाले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगितामा मनाङ मस्र्याङदी, थ्रीस्टार, नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मच्छिन्द्र, जावलाखेल युथ क्बल, हिमालयन शेर्पा, सरस्वती युवा क्लब र आयोजक टोलीको सहभागिता रहनेछ ।
गोल्डकपका लागि हेटौंडा उपमहानगरपालिकाले पन्ध्र लाख, थाहा नगरपालिकाले दश लाख, मकवानपुरगढी, मनहरी, राक्सिराङ, कैलाश, भीमफेदी, इन्द्रसरोबर, बकैया र बागमती गाउँपालिकाले पाँच÷ पाँच लाख रुपैयाँ सहयोग गरेका छन् । प्रतियोगिताको अघिल्लो संस्करण आयोजकले जितेको थियो । प्रतियोगितामा करिब ९५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकको छ । अघिल्लो वर्ष आयोजना हुने भनिएको गोल्डकप कोरोना महामारीका कारण स्थगित गरिएको प्रतियोगिताका संयोजक प्रताप विष्टले बताए ।
प्रतियोगिताको तयारी स्वरुप मैदानको स्तरोन्नति, घेर्ने कामको सुरुवात भइसकेको छ । खेल मैदानमा यसवर्ष सबै दर्शक अस्थायी प्याराफिटमा बसेर हेर्न पाउने भएका छन् । आयोजकले फलामको अस्थायी प्याराफिट मैदानको चारै दिशातर्फ राख्ने तयारी गरेको हो । यसअघि प्याराफिटमा सीमित सिट थियो। बाँकी दर्शकले मैदानमै बसेर फुटबल हुर्ने गरेका थिए । ‘करिब ३ हजार सिट क्षमताको प्याराफिट निर्माण गर्दैछौं । लामो समयपछि मोफासलमा राष्ट्रियस्तरको गोल्डकप हुन लागेकोले धेरै दर्शक आउने अपेक्षा गरेका छौं ।’, संयोजक विष्टले भने, ‘यसवर्ष खेलाडीले प्राप्त गर्ने दैनिक भत्ता र म्याच भत्तामा उल्लेख्य वृद्धि गरिएको पनि छ ।’