हेटौंडा/हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले भीमफेदी गाउँपालिका–१ सामरी खोलामा निर्माण गरेको समवेल सञ्चालनमा ल्याएको छ ।
नेपाली सेनाको मध्यपृतना हेडक्वार्टर सुपारेटारको जग्गामा निर्माण गरिएको समवेलबाट दैनिक २७ लाख लिटर पानी संकलन गरिने बोर्डले जानकारी दिएको छ ।
बोर्डले एक करोड २५ लाख लागतमा सामरी समवेल निर्माण गरेको छ । शुक्रबार हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महत र मध्यपृतनाका पृतनापति अशोकराज सिग्देल क्षेत्रीले संयुक्त रुपमा समवेलको उदघाटन गरेका हुन् ।
समवेलबाट दैनिक २७ लाख लिटर पानी दैनिक वितरण गर्न सकिने बोर्डले जनाएको छ । समवेलबाट हेटौंडा–१, २, ४, ५ र १० नम्बर वडाका करिब आठसय घरधुरीलाई दैनिक तीनसमय पानी वितरण गरिने बोर्डका अध्यक्ष प्रताप विष्टले जानकारी दिए ।
कार्यक्रममा सुपारीटार व्यारेकका नेपाली सेनाका महासेनानी प्रकाशराज थापा, रोशन खड्का, हेटौंडा–१ का वडाध्यक्ष सविन न्यौपाने, पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाई, बोर्डका सदस्य इन्द्र नेपाल, निमित्त कार्यकारी निर्देशक सुदर्शन ढकाललगायतको आतिथ्यता थियो ।