हेटौंडा/मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएकाको परिवारलाई राहत रकम वितरण गरेको छ। थाहाले चालु आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममा समेट्दै प्रक्रिया बमोजिम राहत रकम वितरण गरेको हो । हेटौंडा उपमहानगरपालिका पनि राहत स्वरुप कोरोनाबाट ज्यान गुमाएकाको परिवारलाई जनही ३ लाखका दरले वितरण गर्ने भने पनि हालसम्म प्रक्रिया अघि बढाइएको छ ।
हेटौंडा उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले ३ लाखका दरले राहत रकम वितरण– का लागि प्रक्रिया अघि बढाएको दाबी गरेपनि अझै पीडित पक्षले रकम पाएका छैनन् । तर, थाहाले आफ्ना स्थानीयलाई राहत रकम उपलब्ध गराउन सक्दो छिटो प्रक्रिया अघि बढाएर फागुन १५ गते
रकम वितरण गरेको हो । कोरोना भाइरसका कारण ज्यान गुमाए प्रति परिवार १ लाख रुपियाँ दिने थाहा नगरको सातौ नगरसभाले निर्णय नै गरेको थियो।
थाहानगरमा कोरोनाबाट मृत्यु हुने अधिकांश पुरुष छन् । मृत्यु हुनेमा थाहा–२ का ७७ वर्षिय, थाहा–३ का ३३ वर्षिय पुरुष, थाहा–४ का ५१ वर्षिय, थाहा–६ को ७६ वर्षिय र १० को ४८ वर्षिय पुरुष रहेको स्वास्थ्य शाखाका मेघराज बलामीले जानकारी दिए । थाहा नगरमा कोरोना संक्रमणका कारण हालसम्म ५ जनाले ज्यान गुमाएका छन् । ज्यान गमाएका परिवारलाई नगर प्रमुख लवशेर विष्ट तथा प्रशासन महाशाखा प्रमुख अजित घिमिरेले राहत रकमको चेक हस्तान्तरण गरेका हुन् ।
वितरण कार्यक्रममा प्रमुख विष्टले ज्यान गुमाउने परिवारका लागि थोरै भएपनि आपिर्थक सहायता हुने भएकोले सहयोग गरिएको बताए । विष्टले नगरका नागरिकहरुका लागि कोरोनाबाट सुरक्षित हुने र नगरले गर्न सक्ने कार्यलाई सँधै निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।