हेटौंडा/ब्राण्ड चोरी सहित विभिन्न ठगी र छलकपट गरेको भन्दै मकवानपुरका १५ वटा व्यापारिक फर्मलाई कारबाही गरिएको छ ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजले हेटौंडा–४ स्थित स्कूलरोडमा हिरालाल केशरी संचालक रहेको घर संसारसहित मकवानपुरका १५ वटा व्यापारीक फर्मलाई कारबाही गरेको हो। कार्यालयले १५ व्यापारिक फर्मलाई कारबाहीमा पारेर जरिवाना तोकेको छ ।
बढी मूल्य राखेर सामान बिक्री गर्ने, अरुको ब्राण्ड चोरी गर्ने, मूल्य सूची नराख्ने, खरिद बिल नदेखाउने, इजाजत नलिइ पसल सञ्चालन गर्ने तथा अनुगमन कार्यमा सहयोग नगरेको भन्दै कार्यालयले कारबाही स्वरुप जरिवाना तोकेको हो । कारबाही पर्नेमध्ये सबैभन्दा बढी जरिवाना हिरालालको घर संसार पसललाई तोकिएको छ । घर संसार– लाई ३ लाख जरिवाना गरिएको कार्यालयले जनाएको छ ।
घर संसारलाई यसअघि पनि पटकपटक आन्तरिक राजश्व कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयलगायत नियमन निकायले चेतावनी दिँदै आएको छ । घर संसारमा उपभोक्तालाई मार पर्ने र सरकारले तोकेको मापदण्ड विपरित काम गरेको भन्दै सम्बन्धित निकायले चेतावनी दिएपनि सुधार भएको पाईंदैन । ‘हिरालालको किराना पसल’मा शिलसमेत लगाइएको थियो ।
घर संसारका संचालक सतिश केशरीले आफुहरुले गल्ती नगर्दा पनि कारबाही भोग्नु परेको बताए । साझाकुरासँग प्रतिक्रिया दिँदै केशरीले कम बीलको सामान आएका कारण आफुलाई फाइदा राखेर बिक्री गर्दा बढी मूल्य लिएको देखिएका कारण कारबाही गरिएको दाबी गरे । ‘हाम्रो गल्ती नभएपनि कारबाही गरियो ।’ उनले भने ‘कारबाही स्वरुप जरिवाना रकम हामीले भुक्तान गरिसकेका छौं ।’
कार्यालयले चालु आर्थिक वर्ष २०७७÷०७८ को फागुन १७ गतेसम्ममा २ सय ५ व्यापारिक फर्म अनुगमन गरेको थियो । ती मध्ये मकवानपुरका १५ वटा व्यापारिक फर्मसहित १ सय ५ लाई कारबाही गरी ३० लाख २३ हजार जरिवाना गरेको छ । उद्योग मध्ये एसआर रेडिमेड उद्योगलाई सबैभन्दा बढी ३ लाख जरिवाना गरिएको कार्यालयको तथ्यांकमा उल्लेख छ । उद्योगले बहुर्राष्ट्रिय कम्पनीको लोगो आफ्नो उत्पादनमा लगाउने गरेको पाइएकोले उद्योगलाई हदैसम्मको जरिवाना गरिएको हो ।
उक्त कार्यालयले चालु आवको ७ महिना अवधिमा मकवानपुरका १५, सप्तरीका ११, धनुषाका २०, महोत्तरीका ६, सर्लाहीका ३, रौतहटका १७, बाराका ३, पर्साका ७६ र चितवनका २७ गरी जम्मा २ सय ५ फर्मको अनुगमन गरी त्यसमध्ये १ सय ५ फर्मलाई जरिवाना गरेको हो । १ सय ५ वटा व्यापारीक फर्मलाई कार्वाही गरी ३० लाख २३ हजार जरिवाना गरेको कार्यालयले जनाएको छ ।
यसैगरी वीरगञ्जकै जय अम्बे ट्रेड एण्ड जेनेरल अर्डर सप्लायर्सलाई दुई लाख ५१ हजार, गगन ट्रेडिङ् हाउसलाई दुई लाख जरिवाना गरिएको छ । ती व्यापारिक फर्महरुले बढी मूल्य लिएर उपभोक्ता ठग्दै आइरहेकाले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ बमोजिम तत्काल जरिवाना गरिएको निमित्त कार्यालय प्रमुख जीतबहादुर भण्डारीले बताए ।नेपालभर रहेको वाणिज्य कार्यालयमध्ये सबै भन्दा बढी राजश्व वीरगञ्ज कार्यालयले संकलन गरेको दाबी गर्दै सो कार्यालयका सूचना अधिकारी दिलीपखंग खत्वेले भने, ‘जरिवाना गरिएका फर्मले सो मितिवाट ७ दिनभित्र कार्यालयमा उपस्थित भइ जरिवाना बुझाउनुपर्ने कानूनी प्रावधान रहेको छ ।’