हेटौंडा/मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा २०७२ बैशाख १२ को भूकम्पपछिका पाँच वर्षको अवधिमा निजी आवास पुनर्निर्माणको काम ८० प्रतिशत सम्पन्न भएको छ ।
पुनर्निर्माण प्राधिकरणका इञ्जिनियर परवेज खानका अनुसार नगरपालिकामा सम्झौता गरेका लाभग्राहीमध्ये ५ हजार १ सय ९ परिवारले तेस्रो किस्ताबापतको अनुदान रकम बुझिसकेका छन् ।
नगरपालिकामा भूकम्पबाट सात हजार ९८ परिवारको निजी आवास पूर्ण क्षतिको सूचीमा परेकामा उनीहरुमध्ये ६ हजार ५ सय ७१ ले पुनर्निर्माणका लागि सम्झौता गरेका थिए । बाह्र वटा वडा रहेको नगर– पालिकामा वडा नं ८ मा सबैभन्दा बढी निजी आवास पुनर्निर्माण भएको नगरपालिकाका प्रमुख लवशेर विष्टले जानकारी दिए ।
सो वडामा ९२ प्रतिशत निजी आवास पुनर्निर्माण सकिएको छ । त्यसैगरी सबैभन्दा कम मात्रामा निजी आवास पुनर्निर्माणको काम वडा नं ४ मा भएको छ। सो वडामा ५७ प्रतिशत मात्र निजी आवासको पुनर्निर्माण कार्य सम्पन्न भएको छ ।
थाहा नगरपालिकामा पूर्ण क्षतिको लाभग्राही सूचीमा परेका मध्ये हालसम्म ५ सय २७ भूकम्पपीडितले अनुदान सम्झौता नै गरेका छैनन् । उनीहरुका लागि सम्झौता अवधि समाप्त भइसकेको जिल्ला आयोजना कार्यान्वयन इकाइ मकवानपुरले जनाएको छ ।