हेटौंडा/हेटौंडा–१० स्थित वनविज्ञान अध्ययन संस्थानको गेट नजिकै बेहोस अवस्थामा भेटिएका एक युवकको मृत्यु भएको छ ।
मकवानपुरगढी–६ नम्बर वडामा अस्थायी घर भई हेटौंडा बस्दै आएका करिब ४० वर्षीय नवराज घिमिरेको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार बिहान ७ बजे सडकपेटीमा बेहोस अवस्थामा उनलाई स्थानीयले भेटेका थिए । उनलाई बेहोस अवस्थामा भेटेका स्थानीयले प्रहरीलाई खबर गरेपछि हेटौंडा अस्पताल उपचारका लागि लगिएको थियो ।
उनको मृत्यु मंगलबार बिहान ८ बजेर ३ मिनेटमा भएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । मृतकको शरीरमा कुनै बाहिरी चोटपटक नदेखिएको र मृत्युको कारण बारे पोष्टमार्टम रिपोर्टपछि मात्रै भन्ने सकिने डिएसपी रिमालले बताए । उनको शव हेटौंडा अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । घटनाबारे सुक्ष्म रुपमा अनुसन्धान भइरहेको रिमालले बताए ।