स्वास्थ्य, शिक्षा, रोजगारी सम्पूर्ण नागरिकका लागि अनिवार्य वस्तु हो । तर, नेपालमा पछिल्लो समय यस विषयहरु असाध्यै महँगो सावित भइरहेको छ । देशमा रहेको तीनै तहको सरकारले पछिल्लो समय स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी समेत बढाइरहेको छ । यस्तो अवस्थामा मकवानपुरको असाध्यै विकटमा रहेको लोपोन्मुख जाती चेपाङ र विपन्न तामाङ बासीको बाक्लो बसोबास रहेको दुर्गम क्षेत्र राक्सिराङमा ६ वटा स्वास्थ्य भवन निर्माण भइरहेका छन् । राक्सिराङमा चालु आर्थिक वर्ष २०७७÷०७८ भित्र निर्माण सक्ने गरी ६ वटा स्वास्थ्य इकाईको भवन निर्माण भइरहेको हो । करिब साढे २ करोड लागतमा ६ वटा स्वास्थ्य इकाईको भवन बन्दै गरेको छ । संघीय सरकारको स्वास्थ्य मन्त्रालयले २ करोड २८ लाख रुपैयाँ विनियोजन गरेपछि भवन निर्माणको काम सुरु गरिसकेको छ । स्वास्थ्य मन्त्रालयले प्रतिस्वास्थ्य इकाई बराबर ३८ लाख रुपैयाँ दरले रकम विनियोजन गरेको हो ।
स्वास्थ्य मन्त्रालयलले बजेट विनियोजन गरेसँगै हामीले भवन निर्माण पनि सुरु गरिएको हो । चालू आर्थिक वर्षको अन्त्य सम्ममा सबै भवन निर्माण गरिसक्ने लक्ष्य गाउँपालिकाको छ ।
राक्सिराङ –१, ३, ४, ७, ८ र ९ नम्बर वडामा स्वास्थ्य इकाई भवन निर्माण गर्न लागिएको हो । ९ नम्बर वडाको खैराङमा कोखारी सामुदायिक स्वास्थ्य ईकाई भवनको निर्माण सुरु भइसकेको छ । ३४ लाख रुपैयाँमा ठेक्का पारेको अंकिता निर्माण सेवाले आगामी असारसम्ममा ६ कोठे भवन निर्माण सम्पन्न गर्नेछ । इकाईको लागि अनमी, एचए र कार्यालय सहायक गरी ३ जना स्वास्थ्यकर्मीको दरबन्दी तोकिएको छ । स्वास्थ्य इकाई स्थापनापछि गाउँपालिकामा एउटा अस्पतालसहित १० वटा स्वास्थ्य इकाई हुनेछन् । चैनपुरमा राक्सिराङ अस्पतालको नामबाट दैनिक ओपिडी सेवा सुरु भइसकेको छ । राक्सिराङमा पछिल्लो समय स्वास्थ्य सेवाको पहुँच विस्तार हुँदै गएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । गाउँपालिका हाल ४ वटा स्वास्थ्य चौकीको सुविधासम्पन्न भवनसमेत निर्माण भइरहेको छ ।
राक्सिराङ जस्तै अन्य स्थानीय तहले पनि स्वास्थ्य र शिक्षा क्षेत्रसँगै अन्य भौतिक पूर्वाधारको निर्माणलाई व्यापकता दिनु अहिलेको आवश्यकता हो । देशमा राजनीतिक परिवर्तनसँगै जनताले प्रत्यक्षरुपमा महसुस हुने गरी विकास गर्नु अहिलेको सवैभन्दा ठूलो चुनौती हो । त्यसकारण संघीय र प्रदेश सरकारले स्थानीय तहलाई आवश्यक बजेट विनियोजन गरी अत्यावश्यक क्षेत्रमा लगानी बढाउँदै लैजान जरुरी रहेको छ ।