हेटौंडा/यातायात व्यवसायीलाई राज्यले निरन्तर उपेक्षा मात्र होइन, आफ्नो नागरिकसमेत नठोनेको आरोप लगाइएको छ ।
शनिबार सम्पन्न पुरानो नारायणी यातायात कम्पनीको दोस्रो र नारायणी संघ हेटौंडाको तेस्रो संयुक्त बार्षिक साधारणसभामा यातायात व्यवसायीहरुले राज्यले आफुहरुलाई गैरनागरिक जस्तो व्यवहार गरेको गुनासो गरेका छन् । राज्यले नागरिकलाई गर्ने व्यवहार भन्दै बिल्कुल फरक अवस्था सिर्जना गरेकोले आफुहरुले सदैव समस्या झेल्न बाध्य भएको व्यवसायीको भनाइ छ । संघका अध्यक्ष हिरालाल श्रेष्ठले राज्यले आफुलाई हदैसम्मको उपेक्षा गरेको भन्दै आफ्नो नागरिक होइन सरह व्यवहार गरिरहेको बताए ।
साधारणसभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै श्रेष्ठले यातायात व्यवसायीले अग्रीम कर बुझाउँदै आएको दाबी गर्दै हाल ब्लुबुक नवीकरण, आयकर, जाँचपास, रोडपरमीट जस्ता विभिन्न शिर्षकमा पटकपटक कर राजश्व बुझाउन झन्झटिलो प्रक्रियालाई निरन्तरता दिएको बताए । ‘व्यवसायीले तिर्नुपर्ने कर राजश्व एकमुष्ट रकम तोकि बार्षिक वा अर्धबार्षिक रुपमा एकमुष्ट कर तथा राजश्व बुझाउन पाउने सरलीकृत व्यवस्था गर्न अनुरोध छ ।’ उनले भने।
यातायात क्षेत्रमा देखिएका दजनौं समस्या मध्ये उनले सवारी साधनका नम्बरहरु प्रदेशीकरण गर्न निकै झण्झट व्यहोर्नु परेको श्रेष्ठले सुनाए । संघीय राज्य व्यवस्था अनुरुप यातायात क्षेत्रका सवारीका नम्बरहरु प्रदेशीकरण हुनुपर्नेमा साविकको अञ्चल कार्यालयबाट प्रदेश कार्यालयमा सवारी नम्बर सार्ने व्यवस्था अत्यन्तै झन्झटिलो भएको व्यवसायीको गुनासो छ ।
हरेक सवारी दुर्घटनामा चालकलाई मात्र दोषी देखाइनु गलत भएको श्रेष्ठले दाबी गरे । कतिपय दुर्घटनामा चालक स्वयंको मृत्यु भइरहेको अवस्थामा र दुर्घटनाका अन्य कारणलाई वेवास्ता गरिएको प्रति संघले आपत्ति जनाएको छ ।
संघका अध्यक्ष श्रेष्ठको सभाध्यक्षतामा भएको साधारणसभामा प्रमुख प्रतिपक्ष बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । साधारणसभामा प्रदेश सांसदहरु मुनु सिग्देल, प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुुलाल, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, संघका पूर्वअध्यक्ष बद्रीप्रसाद चौलागाईं, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमाल र जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरिक्षक प्रकाश पाण्डेलगायतको आतिथ्यता रहेको थियो ।