हेटौंडा/कोरोना भाइरस संक्रमणको कारण देखाउँदै मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनको मिति स्थगित गरिएको छ ।
चैत २१, २२ र २३ गते तोकिएको ५४ औं साधारणसभा तथा निर्वाचन मिति मंगलबार बसेको संघको कार्यसमिति बैठकले स्थगित गर्ने निर्णय गरेको हो ।
संघले जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना संक्रमण बृद्धि भएका कारण सभा, सम्मेलन र भीडभाड हुने कुनैपनि किसिमका काम नगर्नु÷नगराउनु भन्दै विज्ञप्ति जारी गरेका कारण साधारणसभा तथा निर्वाचन मिति स्थागित गर्नुको विकल्प नरहेको दाबी गरेको छ ।
संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेका अनुसार प्रशासनबाट जारी गरिएको विज्ञप्तिलाई मध्येनजर गर्दै बैठकले निर्वाचन स्थागित
गरेको बताए । ‘कोरोना संक्रमण बढिरहेको समयमा सभा, सम्मेलन नगर्न सरकारलेनै आग्रह गरिएको अवस्था निर्वाचन स्थगित गर्न संघ बाध्य भएको हो।’ उनले भने ‘अर्को मिति कार्यसमिति बैठकबाटै तोकिनेछ हामी छिट्टै नयाँ मिति तोक्ने तरखरमा लाग्नेछौं ।’
संघले कोभिडको कारण देखाउँदै निर्वाचन मिति स्थगित गरेपनि सुनियोजित रुपमा निर्वाचन सार्न खोजिएको आरोप लगाइएको छ । संघको नेतृत्व सम्हाल्न निर्वाचनमा होमिएका उम्मेदवारहरुले संघले सुनियोजित रुपमा मिति सारेको आरोप लगाएका हुन् । अध्यक्षका प्रत्यासी राजकुमार न्यौपानेले संघका कार्यसमितिका केहि पदाधिकारी र कार्यसमितिका स्वार्थलाई मध्ये– नजर गर्दै सुनियोजित रुपमै निर्वाचन मिति स्थगित गरिएको आरोप लगाए ।
‘सबै जना निर्वाचनमा होमिसकेका छन्, धेरै खर्चसमेत भइसकेको छ ।’ उनले भने ‘यस्तो अवस्थामा आफ्ना नजिकका मान्छेका स्वार्थ र उनीहरुको धारणा अनुसार मिति स्थगित गर्नु आपत्तिजनक छ ।’
न्यौपानेले निर्वाचन मिति स्थगित गर्दा मतदानमा थप अन्यौलता सिर्जना भएको प्रतिक्रिया दिए । आफुहरु समूह बनाएर निर्वाचनमा सक्रियपूर्वक लागिसकेको र मतदाताले समेत निर्वाचनबारे मनस्थिति बनाइसकेको अवस्थामा कोभिडबाट बच्न स्वास्थ्य सुरक्षा अपनाएर निर्वाचन गर्नु उपयुक्त हुने उनको भनाइ छ ।