हेटौंडा/शैक्षिक भ्रमणबाट फर्केने क्रममा तीनजना विद्यार्थीमाथि अभद्र व्यवहार गरेको आरोपमा बुधबार एकजना शिक्षक पक्राउ परेका छन् ।मकवानपुरको गढी– गाउ“पालिका–३, मक्राञ्चुलीस्थित भानु माविका शिक्षक किरण पाण्डेलाई कक्षा आठमा अध्ययनरत् तीनजना छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
‘छात्राहरुमाथि अभद्र व्यवहार गरेको उजुरी दर्ता भएपछि हामीले पक्राउ गरेर मुद्धा चलाएका छौं । जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थप समेत भइसकेको छ ।’, जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रवक्ता जयश्वर रिमालले यस विषयमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको बताए । उनका अनुसार तीनैजना छात्रा १३ वर्षीया हुन् ।
स्थानीय विजय थोकरका अनुसार शैक्षिक भ्रमणबाट फर्कने क्रममा मकवानपुर र चितवनको सीमाना लोथरबाट शिक्षकले छात्रामाथि अभद्र व्यवहार गर्न सुरु गरेका थिए । ‘खाजा खाएपश्चात् बस चढेपछि शिक्षकले विद्यार्थीमाथि अभद्र व्यवहार गरेका रहेछन् । काखमा राख्ने, अंगालो मार्ने र जथाभावी समात्ने गरेको रहेछन् ।’,
थोकरका अनुसार यस विषयमा छात्राहरुले अभिभावकलाई जानकारी गराएपछि उनीविरुद्ध उजुरी दर्ता गराइएको हो । ‘बसमै छात्राहरुले रुवाबासी गरेपछि यस विषयलाई दबाउन खोजिएको रहेछ । हामी गाउ“ले र पीडितको दबाबमा उजुरी दर्ता गराएका हौं ।’, थोकरले भने ।
पीडित छात्राका परिवारलाई यस विषयमा उजुरी दर्ता नगराउन र घटनालाई लुकाउन विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुले दबाब दिएको स्थानीयको आरोप । विद्यालयका प्रधानाध्यापक राजेन्द्र थापाले यसविषयमा निष्पक्षमा छानविनको माग गरेका छन् ।
‘शैक्षिक पेशा र विद्यार्थीको भविष्यको विषयमा पूर्वाग्राही नभएर निष्पक्ष छानविन गर्न हामीले माग गरेका छौं ।’, उनले छात्रामाथि अभद्र व्यवहार भएको थाहा पाउने वित्तिकै प्रहरीलाई खबर गरेको बताए ।्