हेटौंडा/देशमा संघीयता आएपछि स्थापना भएको प्रदेश सरकारले आर्थिक, सामाजिक र भौतिक विकासमा उल्लेख्य प्रगति गरेको छ । देशका सातवाट प्रदेश मध्ये बागमती प्रदेश सरकारले भौतिक तथा सामाजिक क्षेत्रको विकासमा उल्लेख्य भूमिका निर्वाह गरेको छ ।
विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सातै प्रदेशमध्ये बागमती प्रदेश सरकार पहिलो सूचीमा छ । बागमती सरकार प्रदेशका १३ वटै जिल्लाको विकास निर्माणका काममा लागि परेको उदाहरण सडक र पुल निर्माणले देखाउँछ । सडक अभावमा समस्या भोग्दै आएका जनताको जीवनयापनमा सहजता प्रदान गर्न प्रदेश सरकारले सडक र पुल निर्माणलाई प्राथमिकतामा राखेर काम गरेको छ ।
प्रदेश सरकारले दुई आर्थिक वर्ष २०७५÷०७६ र ०७६÷ ०७७ मा कुल ८ सय ९२ किलोमिटर कच्ची सडक निर्माण गरेको छ । एक सय ५१ किलोमिटर सडक कालोपत्रे गरेको प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार ४ सय ९ किलोमिटर सडक ग्राभेल गरेको छ । दुई आर्थिक वर्षमा ७ सय ३४ किलोमिटर सडकको सर्भेसमेत गरेको निर्देशनालयको दाबी छ ।
सरकारले आव २०७५÷ ०७६ मा कुल ६ अर्ब ४९ करोड १२ लाख ७२ हजार रुपैयाँ बजेटमध्ये ३ अर्ब ६७ करोड ५ लाख ९८ हजार रुपैयाँ सडक निर्माण शिर्षकमा खर्च गरेको थियो । प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालयले आव २०७५÷०७६ मा प्रदेशभित्र ९० दशमलव ७८ किलो मिटर सडक कालोपत्रे गरेको हो ।
यस्तै एक सय ६६ दशमलव ७८ किलोमिटर सडक ग्राभेल गरेको प्रदेश सरकारले ४ सय १८ दशमलव ९९ किलोमिटर कच्ची सडक निर्माण गरेको निर्देशनालयका निमित्त निर्देशक डा. सहदेवबहादुर भण्डारीले जानकारी दिए । प्रदेश सरकारको यातायात पूर्वाधार निर्देशनालय हेटौंडाले आव २०७६÷०७७ मा १४ किलोमिटर कच्ची सडक निर्माण गरेको छ । त्यस्तै ५ सय २४ किलोमिटर सडक सर्भेको काम गरेको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयले कुल बजेट ४७ करोड ९९ लाख रुपैयाँमध्ये २३ कारोड ५४ लाख रुपैया खर्च गरेको हो । पूवार्धार विकास कार्यालय ललितपुरले २६ किलोमिटर कच्ची सडक निर्माण, ९ किलोमिटर सडक कालोपत्रे, १० किलोमिटर ग्राभेलिङ, ६ किलोमिटर स्ल्याब ढलान र ४ वटा पुल निमार्ण गरेको निमित्त निर्देशक भण्डारीले बताए । पूर्वाधार कार्यालय ललितपुरले आव २०७६÷०७७ मा कुल बजेटको एक अर्ब २८ करोड १४ लाख रुपैयाँमध्ये ६८ करोड ४५ लाख रुपैया खर्च गरेको छ । पूर्वाधार विकास कार्यालय काभ्रेले ६२ किलोमिटर कच्ची सडक निर्माण गरेको छ भने ९ किलोमिटर सडक कालोपत्रे गरेको हो ।
यस्तै २१ किलोमिटर सडक ग्राभेल गरेको निर्देशनालय हेटौंडाले जनाएको छ । २ किलेमिटर सडक स्ल्याब ढलान र ३ वटा पुल निर्माण गरेको जनाइएको छ । आव २०६७÷०७७ मा पूर्वाधार विकास कार्यालय काभ्रेले कुल १ अर्ब २९ करोड ३५ लाख रुपैयाँ बजेटमध्ये ७२ करोड ४९ लाख रुपैयाँ खर्च गरेको छ । पूवार्धार विकास कार्यालय चितवनले आर्थिक वर्ष २०७६÷०७७ मा २७ किलोमिटर कच्ची सडक निर्माण गरेको छ । ९ किलोमिटर सडक कालोपत्रे, ३६ किलोमिटर ग्राभेलिङ, ८ किलोमिटर स्ल्याब ढलान र ४ वटा पुल निर्माण गरेको निर्देशनालले जानकारी दिएको छ ।
पूर्वाधार कार्यालय चितवनले आव २०७६÷०७७ मा कुल बजेट एक अर्ब २८ करोड रुपैयाँमध्ये ५८ करोड ५९ लाख रुपैयाँ खर्च गरेको हो । पूवार्धार विकास कार्यालय नुवाकोटले आव २०७६÷०७७ मा ५४ किलोमिटर कच्ची सडक निर्माण गरेको छ भने ३ किलोमिटर सडक कालोपत्रे, १६ किलोमिटर ग्राभेलिङ, ३ किलोमिटर स्ल्याब ढलान र एउटा पुल निमार्ण गरेको हो । पूर्वाधार कार्यालय नुवाकोटले आव २०७६÷०७७ मा कुल बजेट एक अर्ब १९ करोड २५ लाख रुपैयाँमध्ये ७१ करोड ७५ लाख रुपैया खर्च गरेको छ ।
पूवार्धार विकास कार्यालय सिन्धुपाल्चोकले आव २०७६÷०७७ मा एक सय २२ किलोमिटर कच्चि सडक निर्माण गरेको छ भने ३ किलोमिटर सडक कालोपत्रे, ५२ किलोमिटर ग्राभेलिङ, २ किलोमिटर स्ल्याब ढलान र ५ वटा पुल निमार्ण गरेको यातयात पूर्वाधार निर्देशनालयका निमित्त निर्देशक भण्डारीले जानकारी दिए । कार्यालयले आव २०७६÷ ०७७ मा कुल बजेट एक अर्ब ७० करोड ५० लाख रुपैयाँमध्ये एक अर्ब ८ करोड ३३ लाख रुपैयाँ खर्च गरेको छ ।
पूवार्धार विकास कार्यालय रामेछापले आव २०७६÷०७७ मा एक सय १० किलोमिटर कच्ची सडक निर्माण गरेको निर्देनालयले जानकारी दिएको छ । ३ किलोमिटर सडक कालोपत्रे, ६ किलोमिटर ग्राभेलिङ, १ किलोमिटर स्ल्याब ढलान र २ वटा पुल कार्यालयले निमार्ण गरेको छ । कार्यालयले आव २०७६÷०७७ मा कुल बजेट एक अर्ब १४ करोड ७६ लाख रुपैयाँमध्ये ९३ करोड २५ लाख रुपैयाँ खर्च गरेको हो । प्रादेशिक सडक डिभिजन कार्यालय नुवाकोटले आव २०७६÷०७७ मा १३ किलो– मिटर कच्चि सडक निर्माण गरेको छ ।
कार्यालयले १७ किलोमिटर सडक कालोपत्रे र ३० किलोमिटर ग्राभेलिङ गरेको कार्यालयले जनाएको छ । प्रादेशिक सडक डिभिजन कार्यालय नुवाकोटले आव २०७६÷०७७ मा कुल बजेट ४६ करोड ८२ लाख रुपैयाँमध्ये ३६ करोड ६० लाख रुपैयाँ खर्च गरेको हो । प्रादेशिक सडक डिभिजन कार्यालय खुर्कोटले आव २०७६÷ ०७७ मा ४७ किलोमिटर कच्ची सडक निर्माण गरेको छ भने ८ किलोमिटर सडक कालोपत्रे, ७१ किलोमिटर ग्राभेलिङ र ६ किलोमिटर स्ल्याब ढलान गरेको निर्देशनालयले जानकारी दिएको छ । प्रादेशिक सडक डिभिजन कार्यालय नुवाकोटले आर्थिक वर्ष २०७६÷०७७ मा कुल बजेट ३९ करोड ३९ लाख रुपैयाँ मध्ये ३९ करोड रुपैयाँ खर्च गरेको छ ।