हेटौंडा/विगत दुई हप्तादेखि हेटौंडा आसपास र अधिकांश स्थानीय तहका वनजंगल क्षेत्रमा डढेलो दन्किरहेको छ। गर्मी, लामो खडेरी र उच्च वेगको हावाहुरीका कारण दिनहुँ जिल्लका विभिन्न भागमा डढेलो लागेको तथ्यांक आएको छ । डढेलो लाग्दा हेटौंडा उपमहानगर– पालिका, मकवानपुरगढी, भीमफेदी लगायतका गाउँपालिकामा खानेपानी पाइप जलेर नष्ट भएको छ ।
नेपालमा फागुनदेखि जेठसम्म डढेलो बढी लाग्ने गर्छ । यो चैतमा लागेको डढेलो विगत ५ वर्षदेखि कै सबैभन्दा बढी हो । चुरे, तराई तथा मध्यपहाडी जिल्लाका वनमा लागेको डढेलो रोकिन सकेको छैन ।
हेटौंडा उपमहानगरपालिका–१ भैरवडाँडा क्षेत्रमा विगत हप्तादिनदेखि डढेलो लागिरहेको छ । भैरवडाँडामा निरन्तर डढेलो लगाउने क्रम चलिरहँदा खानेपानीको पाइप जलेर त्यहाँका स्थानीय खानेपानी खानबाट बञ्चित हुनु परेको छ। डढेलोले खानेपानीको पाइप जल्दा बुधबार दिउँसोबाट खानेपानीबाट बञ्चित हुनु परेको स्थानीय बिनोदकुमार सापकोटाले बताए । भैरवडाँडामा डढेलो बस्ती नजिक आइपुग्दा धेरै जोखिम बढेकोले रातभरी सुत्न नसकेको सापकोटाको भनाइ छ ।
‘भैरवडाँडा आसपासको जंगलमा पाँच दिनदेखि सुरु भएको डढेलोले खानेपानीको पाइप जलेर नष्ट भयो । हामीले पानी पनि खान पाएका छैनौं। हामी पाथिभारा मन्दिर आसपासका करिब ३ दर्जन घरधुरीले दुई किलोमिटर पैदलयात्रा गरेर खानेपानीको जोहो गरिरहेका छौं ।’, सापकोटाले भने ।
पाथिभारा मन्दिर क्षेत्रमा यसअघि पनि खानेपानीको सहज आपूर्ती हुन सकेको थिएन् । नीजि स्रोतबाट खानेपानीको व्यवस्थापन गरेका स्थानीय डढेलोले पाइप नै जलेपछि पुनः खानेपानी व्यवस्थापनको लागि चिन्तित बनेका छन् ।
भैरवडाँडामा मात्र नभई हेटौंडासँग जोडिएको मकवानपुरगढी–४ नम्बर वडाको विभिन्न स्थानमा, बागमती प्रदेशको मुख्यमन्त्री कार्यालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, वन निर्देशनालय, डिभिजन वन कार्यालय हेटौंडाको कार्यालय नजिक रहेको जंगलमा पनि डढेलो लागेको थियो । डढेलो नियन्त्रण गर्ने निकाय डिभिजन वन कार्यालय हेटौंडा नजिकै आगलागी हुँदा पनि डढेलो लगाउनेको पहिचान हुन सकेको छैन् । डढेलो लगाउनेको पहिचान हुन नसक्दा पनि जिल्लाका विभिन्न क्षेत्रमा डढेलो लगाउने कार्य रोकिएको छैन ।
डिभिवन वन अधिकृत इमनाथ पौडेलले डँढेलो लगाउनेको पहिचान हुन नसकेको बताए । उनले डढेलो लगाउनेको पहिचान हुन नसकेपनि कार्यालयको आगलागी नियन्त्रण गर्ने टोलीले नेपाली सेनासँग समन्वय गरी डँढेलो नियन्त्रणमा काम गरिरहेको बताए । ‘डढेलो लगाउनेको पहिचान हुन सकेको छैन् । यसरी पहिचान भएमा हामी कानून अनुसार कारबाही गर्छौं ।’, पौडेलले भने । उनले डँढेलो लगाउनेको पहिचान खुल्ने अवस्था कम भएको बताए ।
डढेलोले वनजंगल आसपासका बस्तिहरु त्रासमा छन् । डढेलोले वन जंगलका बोटबिरुवा नष्ट हुनुका साथै जंगली जनावर, चराचुरुड्डीसमेत नष्ट भइरहेको डिभिजन वन अधिकृत पौडेल बताउँ– छन् । डढेलोको कारण बोटबिरुवा र पशुपंक्षी मात्र होइन मानव स्वास्थ्यको लागि पनि असर गरिरहेको छ। नगरका आसपास क्षेत्रमा डँढेलो लाग्दा धुँवाले आँखा पोल्ने, सास फेर्न समस्या देखिएको बजार क्षेत्रका स्थानीयहरुको गुनासो छ ।
भीमफेदीमा घर जल्यो
हेटौंडा÷भीमफेदी गाउँ– पालिकामा आगलागी हुँदा २ घरसहित पशुचौपाया जलेर नष्ट भएको जनाइएको छ ।
भीमफेदी गाउँपालिका–२ भैंसेका इन्द्रबहादुर सिजालीको घरमा बिहीबार दिउँसो आगलागी भएको हो । आगलागीबाट दुई घर जलेका छन् । घरसँगै रहेका ४ वटा गोठ र पशुचौपाया जलेर नष्ट भएको भैंसे प्रहरी चौकीले जानकारी दिएको छ । सिजालीसहित अन्यको घरमा लागेको आगो प्रहरी र स्थानीयले समेत नियन्त्रण गर्न नसकेको जनाइएको छ ।
आगलागी भएका घरहरु– मध्ये नगदसहित लत्ताकपडा, खाद्यान्न जलेको जनाइएको छ । घर र गोठमा आगलागी हुँदा मानवीय क्षति भने नभएको भैंसे प्रहरीले जनाएको छ । ग्यास बाल्दा घरमा आगलागी भएको स्थानीयले बताएका छन् ।