हेटौंडा/मेलमिलाप र सद्भावको पर्वको रुपमा मनाइने होली पर्व आज आइतबार पहाडी क्षेत्रमा धुमधामले मनाइँदैछ । फागु अर्थात होली पर्वमा आपसमा रंग र लोला खेली मनाउने गरिन्छ ।
दैत्यराज हिरण्यकश्यपुले छोरा प्रल्हादलाई मार्न आगोले नपोल्ने वरदान पाएकी बहिनी होलिकाको साथमा आगोमा पस्न लगाउँदा होलिका आफैं भष्म भएकी, तर प्रल्हादलाई पोल्न नसकेको धार्मिक शास्त्रमा उल्लेख छ ।
त्यसैबेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी होलिका मारिएको सम्झनामा होली अर्थात फागु खेल्ने परम्परा चलेको मानिन्छ । आज काठमाडौंको वसन्तपुरमा गाडिएको चीरलाई बिधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउने प्रचलन छ । ललितपुरमा गाडिएको चीरलाई पनि मंगलबार बागमतीमा लगेर सेलाउने गरिन्छ ।
काठमाडौ उपत्यका सहित पहाडी जिल्लाहरुमा बुधबार र तराइमा भने बिहीबार फागु पर्व मनाईन्छ । होली मनाउने क्रममा लिड अर्थात सिसायुक्त रंग र पेन्ट्सको प्रयोग नगर्न चिकित्सकले सुझाव दिएका छन् ।
सिसायुक्त रंग र पेन्ट्सले छालामा एलर्जी हुने, छाला डढाउने, फोका आउने, छालाजन्य रोग लागेर दाग बस्ने र चाउरी पर्ने समस्या हुने भएकाले सावधानी अपनाउन उनीहरुको सल्लाह छ । होलीको समयमा हुने अमर्यादित गतिविधिलाई नियन्त्रण गर्न प्रहरीले पनि विशेष सुरक्षा अपनाएको छ । जबरजस्ती रङ दल्ने तथा लोला हान्नेलाई प्रहरीले कारबाही गर्ने चेतावनी दिएको छ । मर्यादित ढंगले होली मनाउने प्रहरीले सबैलाई आग्रह गरेको छ ।
होली हर्षोल्लासका साथ मनाउनु पर्ने भएपनि कोरोना महामारीका कारण सावधानी मनाउनु जरुरी छ । छिमेकी मुलुक भारतमा कोरोना महामारीको दोस्रो लहर फैलिरहेको अवस्थामा नेपालमा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयले पटकपटक आग्रह गरिरहेको छ ।