हेटौंडा/हेटौंडा–४, कमलडाँडामा रहेको रोशनी पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरिएको छ । रोटरी क्लब अफ मकवानपुरले शनिबार बिहान पुस्तकालयलाई १५ हजार रुपैयाँ बराबरको विभिन्न विषयका पुस्तक हस्तान्तरण गरेको हो । रोटरीका अध्यक्ष कविन सांगामीको अध्यक्षता तथा पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ मकवानपुरका अध्यक्ष विज्ञान रिमालको प्रमुख आतिथ्यमा पुस्तक हस्तान्तरण कार्यक्रम गरिएको हो । रोटरीका पदाधिकारीले पुस्तकालयका उपाध्यक्ष मदन न्यौपाने तथा पुस्तकालयका व्यवस्थापक लक्ष्मण तामाङलाई पुस्तक हस्तान्तरण गरेका हुन् । पुस्तक हस्तान्तरणपछि रोटरीका पदाधिकारीले पुस्तकालयको सदस्य भएर अध्ययनका लागि एक एक थान पुस्तक लिएका थिए । पुस्तक हस्तान्तरण कार्यक्रममा रोटरी क्लब अफ मकवानपुरका संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापति, सचिव कृष्णबहादुर कार्की, निर्देशक शुक्रराज जोशी, निर्देशक मनोज ढोडारी, सदस्य कृष्णगोपाल श्रेष्ठको उपस्थिति रहेको थियो । रोशनी पुस्तकालय हरेक दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म खुल्ने गरेको छ । दैनिक पत्रपत्रिकाका साथै विभिन्न शिर्षकका करिब ५ हजार थान पुस्तक रहेको छ । पछिल्लो समय व्यक्ति तथा संघ, संस्थाको सहयोगमा नयाँ पुस्तकहरु पुस्तकालयमा थप गर्ने गरिएको छ ।