हेटौंडा/‘चित्तल मार्न पाईंदैन, यस्तो प्रशासन चाहिँदैन’ भन्दै हेटौंडाको मुख्य बजार क्षेत्रमा विद्यार्थीले प्रदर्शन गरेका छन् । वन विज्ञान अध्ययन संस्थान हेटौंडा (फरेष्टी)मा अध्ययनरत् विद्यार्थीले वन्यजन्तुको संरक्षणको माग गर्दै प्रदर्शनसाथै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् ।
आइतबार फरेष्टी क्याम्पस भित्र रहेका वन्यजन्तुको संरक्षणमा सरोकारवालाहरुले कुनै चासो नदेखाएको भन्दै क्याम्पसमा अध्ययनरत् विद्यार्थीले उक्त राजमार्ग केहीबेर अवरुद्ध गरेका थिए । उनीहरुले ‘क्याम्पस प्रशासन मुर्दावाद, चित्तल मार्न पाईंदैन, यस्तो प्रशासन चाहिँदैन’ भन्ने जस्ता नारा लगाएका थिए ।क्याम्पसको जंगलमा रहेका वन्यजन्तुहरुको संरक्षणको माग गर्दै बारम्बार क्याम्पस प्रशासन, जिल्ला प्रशासन कार्यालय मकवानपुर र सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउँदासमेत प्रशासन मौन बसेकाले आफुहरु विरोधमा उत्रिन बाध्य भएको विद्यार्थी समूहको भनाइ छ ।
उनीहरुले क्याम्पस परिसरको खुल्ला क्षेत्रलाई बन्द गरिनु पर्ने, सडक क्षेत्रको भु–भाग कटाएर क्याम्पस परिसरमा पर्खाल लगाउनुपर्ने, वन्यजन्तुको संरक्षणका लागि उचित व्यवस्था हुनुपर्ने, उपमहानगरपालिकाले भुसिया कुकुरको व्यवस्थापन गर्नुपर्ने र क्याम्पसका कर्मचारीले पालेका कुकुरलाई छाडा छोड्न बन्द गर्नुपर्ने लगायत माग रोखका छन् ।
फरेष्टी क्याम्पसमा पछिल्लो एक हप्तामा मात्रै तीन वटा चित्तल मृत अवस्थामा भेटिएको उनीहरु बताउँछन् । क्याम्पस परिसरमा आइतबार एउटा चित्तल मृत फेला परेसँगै हप्तामा तीन वटा चित्तल फेला परेको हो । विद्यार्थीका अनुसार, क्याम्पस परिसरमा लकडाउनपछि १६ वटा चित्तल मृत अवस्थामा भेटिएको छ ।