हेटौंडा/तीन दशक अघिदेखि हेटौंडामा विवादित रहेको सडक विस्तारलाई बागमती प्रदेश सरकारले विकल्पको रुपमा बाइपास सडक निर्माण गरिरहेको छ।बर्षौंदेखि संघीय सरकारले मुख्य बजारको सडक दायाँ/बायाँ २५–२५ मिटर फराकिलो बनाउने योजना अघि सारेपनि बागमती सरकारले परिमार्जन गर्दै बिकल्पको रुपमा बाइपास सडक निर्माणलाई अघि बढाएको हो ।
मुख्य बजारको सडक दाँया/बायाँ २५–२५ मिटर फराकिलो बनाउँदा बजारको अस्तित्व नै मेटिने भएपछि बैकल्पिक मार्गको रुपमा बाइपास सडक निर्माण अघि बढाएको प्रदेश सरकारको दाबी छ ।
२५ मिटर सडक फराकिलो बनाउँदा अधिकांश जग्गा धनीको एक धुरपनि जमिन बाँकी नरहने र बजारको अस्तित्व पूर्ण रुपमा मेटिने भएपछि प्रदेश सरकारले बाइपास सडक निर्माणलाई प्राथमिकता दिएको मुख्यमन्त्री डोरमणि पौडेलले बताए ।
‘बैकल्पिक मार्गको रुपमा सडक निर्माण गरेर ठुला गाडी बाइपासबाट गुड्ने अवधारणा अघि बढाइएको हो ।’ मुख्यमन्त्री पौडेलले भने त्रिभुवन राजपथ र महेन्द्र राजमार्गभित्र पर्ने मुख्य बजारका घरहरु भत्काउँदा बिना क्षतिपूर्ति संघीय सरकारले सडक फराकिलो बनाउने योजना बनाएको थियो । मुआब्जाबिना आफ्नो घर भत्किने भएपछि मकवानपुर उद्योग वाणिज्य संघ र घरधनीहरु दशकअघिदेखि आन्दोलनरत् थिए ।
प्रदेश सरकारले मुख्य बजार क्षेत्रमा मुआब्जाबिना १६÷१६ मिटर सडक विस्तार र बाइपास सडकबाट ठुला सवारीसाधन संचालन गरेर बजारको सवारी चाप कमी गर्ने भएपछि सबै सहमत भएका थिए । संघ र घरधनीबीच सहमति जुटेसँग बाइपास सडक निर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालयले २०७५ असोज ३० गते गजुरमुखी शिवशक्ति निशान जेभीसँग १३ करोड रुपैयाँमा ठेक्का सम्भौता गर्दै काम अघि बढाएको हो ।यसैक्रममा शनिबार छलफल गर्दै १५ दिनभित्र बाइपास सडक संचालनका लागि प्रदेश
सरकारले चासो दिएको छ । वितेको आर्थिक वर्षमा पनि बाइपास सडक निर्माणका लागि केही काम गरेको प्रदेश सरकारले यो सडक निर्माणका लागि चासो दिएको हो । बाइपास सडक निर्माणका लागि प्रदशका मुख्यमन्त्री पौडेलको नेतृत्वमा हेटौंडामा बैठकसमेत बसेको छ । बैठकले बाइपास सडक निर्माणको काम तत्काल सुरु गर्ने बताइएको छ । गतवर्ष सडकको ट्रयाक खोलेर बाध बाध्य काम गरिएको छ ।
अबको १५ दिनपछि सुरुवात कार्यको योजनाबद्ध रुपमा अगाडि बढाउने सहमतिका साथ छलफल सकिएको छ। अन्तक्र्रियामा संघीय सांसद कृष्ण प्रसाद दाहाल, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राइ लगायतको सहभागिता रहेको थियो । बाइपास सडक विस्तार गरी त्रिभुवन राजपथ तथा महेन्द्र राजमार्गबाट आएका हेभी ट्रक र ठूला सवारी साधनलाई बाइपासबाटै गुडाउने लक्ष्यसहित पूर्वाधार निर्माणको काम सुरु गरिएको यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डा.सहदेव बहादुर भण्डारीले जानकारी दिए ।
‘प्रदेश राजधानी हेटौंडामा सवारीको चाप धेरै बढेको छ, कि सडक फराकिलो पार्ने कि बाइपास सडक निर्माण गर्नुको विकल्प छैन’ उनले भने ‘त्यसैले हामीले बाइपास सडक निर्माण सुरु गरेका हौं ।’ राप्ती खोलाको किनारै किनार निर्माण हुने बाइपासले नदी नियन्त्रण गर्ने र हेटौंडा बजारक्षेत्रको समेत सुरक्षा गर्ने भण्डारीको दाबी छ ।